राजनीति

योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा योग्य, इमान्दार र सक्षम युवा नेतृत्वलाई पाँच वर्ष निर्भिक भएर काम गर्ने अवसर प्रदान गर्नुपर्ने बताएका छन्।

महामन्त्री बुर्लाकोटीले रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनको आज हेटौंडामा उद्घाटन गर्दै राजनीतिक नेतृत्वमा सक्षम व्यक्ति भए पार्टीमा कुनै समस्या उत्पन्न नहुने बताएका हुन्।

उनले मुलुकमा बढ्दो कुशासन, भ्रष्ट्राचारजन्य अपराधलाई कानुनी एवं राजनीति भूमिकाको नेतृत्वबाट नियन्त्रित गर्न सबै नेतृत्व तहमा पार्टीमा आज इमान्दारीको खाँचो परेको सुनाए।

महामन्त्री बुर्लाकोटीले विसं २०८४ हुने प्रदेशस्तर र स्थानीय निकाय निर्वाचनमा पार्टीको युवापुस्ताले निर्वाचनमा सहभागी हुन, जनप्रतिनिधिमा निर्वाचित हुनको लागि जनताको बीचमा पुग्ने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले पार्टीमा स्थापना कालदेखि सक्रिय रहँदै आएको भए पनि नेता र कार्यकर्ताको बीच नेतृत्व तहको क्षमतामा सक्षम र इमान्दारी नरहे रास्वपाले जिम्मेवारी नदिनेतर्फ जानकारी दिए। 

प्रतिनिधिसभाका सदस्यहरू खगेन्द्र सुनार, समीक्षा बाँस्कोटा र गणेश पराजुलीले मुलुकमा सुशासनको दीर्घकालीन लक्ष्य प्राप्ति गर्ने र जनतालाई  विकास र आर्थिक समृद्धितर्फ आत्मनिर्भर बनाउन पार्टीले नवयुवाको योग्यता क्षमतालाई निर्वाचनको माध्यमबाट अगाडि बढाउनुपर्नेमा जोड दिए।

दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोक जिल्लाको बाहेक १२ जिल्लाका करिब एक हजार प्रतिनिधि र प्रवेक्षकहरुको सहभागिता रहेको रास्वपा मकवानपुरका अध्यक्ष सञ्जय पाठकले बताए।

प्रकाशित: २६ जेष्ठ २०८३ २२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App