प्रवास

ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित ६ नेपाली पर्वतारोही सम्पर्कविहीन (नामसहित)

पाकिस्तानस्थित काराकोरम हिमश्रृंखलाको ८,०४७ मिटर अग्लो ब्रड पिक क्षेत्रमा गएको हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी मल्लोरी गाइस, नेपालका निर्मल पुर्जा ‘निम्स दाइ’, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्।

उक्त हिमपहिरो बिहीबार दिउँसो करिब १२ बजेतिर गएको बताइएको छ, जसपछि टोलीसँग प्रत्यक्ष सम्पर्क विच्छेद भएको थियो। त्यसयता खोज तथा उद्धार अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ।

बीबीसीसँग कुरा गर्दै नेपाली सांसद तथा पर्वतारोहण व्यवसायी मिङ्मा ग्याबु शेर्पाले के–टु हिमालमा रहेका आरोहीहरूलाई समेत खोज अभियानमा परिचालन गरिएको जानकारी दिएका छन्। उनका अनुसार ती आरोहीहरू आफ्ना क्याम्पबाट तल झर्दै उद्धार कार्यमा सहयोग गरिरहेका छन्।

उनले ‘इम्याजिन नेपाल’ नामक व्यावसायिक पर्वतारोहण कम्पनीका सदस्यहरू पनि सक्रिय रूपमा परिचालन गरिएको बताए। निर्मल पुर्जा उक्त कम्पनीसँग सम्बन्धित रहेका छन्।

यसअघि पुर्जाको ट्र्याकिङ उपकरणमा केही गतिविधि देखिएको खबर सार्वजनिक भएको थियो। सो विषयलाई पुष्टि गर्दै शेर्पाले उक्त गतिविधि हिजो ट्र्याकिङ प्रणालीमा रेकर्ड भएको जानकारी दिएका छन्। यद्यपि त्यसपछि प्रत्यक्ष सम्पर्क भने स्थापित हुन सकेको छैन।

पाकिस्तान सरकारले खोज तथा उद्धार अभियानलाई सघाउन सेना परिचालन गरिसकेको छ। दुई वटा पाकिस्तान आर्मी एभिएसनका हेलिकप्टरहरू उद्धारकर्मी तथा विशेष उपकरणसहित प्रभावित क्षेत्रमा पठाइएको छ भने स्कर्दुमा थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।

अल्पाइन क्लब अफ पाकिस्तानले संलग्न सबै निकायहरूको तीव्र प्रतिक्रिया र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै बेपत्ता आरोहीहरूको सकुशल उद्धार हुने आशा व्यक्त गरेको छ।

उद्धार अभियान अझै जारी रहेको छ।

प्रकाशित: १५ श्रावण २०८३ ०९:५२ शुक्रबार