स्वास्थ्य

दुई वर्षदेखिको प्रतीक्षापछि जुम्लामा ‘डायलाइसिस’ सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा दुई वर्षदेखि रोकिएको डायलाइसिस सेवा पुनः सञ्चालनमा आएको छ।

उपकरण र जनशक्ति अभावमा बन्द भएको यो जीवनदायी सेवा सुरु भएसँगै अब मिर्गौलाका बिरामीले महँगो खर्च गरेर उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यताबाट राहत पाएका छन्।

छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिका–२ की जीरकला बियारको डायलाइसिस गरेर सेवाको पुनः सुरुवात गरिएको हो। ‘आर्थिक अभावले उपचार जुम्लामा नहोला कि भन्ने डर थियो,’ उत्साहित हुँदै बियारले भनिन्, ‘पहिलो सेवा लिन पाउँदा धेरै खुसी छु। यो सेवा अब निरन्तर होस्।’

पहिले डायलाइसिसका लागि महँगो जहाज भाडा तिरेर नेपालगन्ज, काठमाडौं पुग्नुपर्ने बाध्यताले कर्णालीका धेरै बिरामी रोग पालेर बस्न विवश थिए। ‘अहिले औषधि उपचार पनि यहीँ छ, डायलाइसिस पनि सुरु भयो,’ स्थानीय परीलाल थापाले भने, ‘अब यसलाई निरन्तरता दिनु मात्र खाँचो छ।’

प्रतिष्ठानका उपकुलपति सह–प्राध्यापक डा. पूजनकुमार रोकायाले अब सेवा नरोकिने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘पहिले जनशक्ति, औषधि र उपकरणबीच तालमेल मिलेको थिएन। अहिले सबै तयारी पूरा गरेर सेवा थालिएको हो, अब रोकिँदैन,’ उनले भने।

प्रतिष्ठानमा हाल ४ वटा डायलाइसिस मेसिन तयारी अवस्थामा छन्, जसमध्ये दुईवटा सञ्चालनमा ल्याएर सेवा सुरु गरिएको छ।

२०८० साल भदौ १४ गते तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले तामझामका साथ यो सेवाको उद्घाटन गरे पनि प्राविधिक तयारी नपुग्दा सञ्चालनमा आउन सकेको थिएन।

चिकित्सकहरूका अनुसार स्वच्छ खानेपानीको अपर्याप्त पहुँचका कारण कर्णालीमा मिर्गौलाका बिरामीको सङ्ख्या बढ्दो छ, जस कारण डायलाइसिस सेवाको माग उच्च रहेको छ।

प्रकाशित: १ भाद्र २०८२ १९:२९ आइतबार