लिमचुङबुङ गाउँपालिकाका आङ (बच्चादानी) खसेका महिलाहरुको निःशूल्क शल्यक्रिया (अप्रेसन) गर्ने काम अहिलेसम्म हुन सकेको छैन।
गाउँपालिका र उदयपुर जिल्ला अस्पतालबीच भएको सम्झौता अनुसार ४२ जना महिलाको निःशूल्क अप्रेसन गर्नुपर्नेमा विविध कारणले रोकिन गएको हो। निःशूल्क अप्रेसन हुन्छ भन्दै गाउँपालिकाले वडाको सिफारिससहित सदरमुकाम जान भने अनुसार कुरुवा र सिफारिसपत्र लिएर अस्पताल आएका महिलाहरु महिनादिनसम्म कुर्दा पनि उपचार नपाएपछि घर फर्कन थालेका छन्।
निःशूल्क अप्रेसन गर्ने व्यवस्था मिलाएको भन्दै गाउँपालिकाले गत माघ पहिलो सातादेखि बिरामीलाई सदरमुकाम पठाएको थियो। तर, अस्पताल पुगेर भर्ना भइरहेका बेला कोभिड ओमिक्रोन संक्रमण बढेपछि अस्पतालले उनीहरुलाई केहीदिन कुराएर घर पठाँएको थियो। अप्रेसनका लागि बेड भर्ना गरेर प्रक्रिया सुरु गरिरहेकै बेला ओमिक्रोन बढेपछि अनिश्चितकालका लागि अप्रेसन स्थगन गरेको अस्पतालले माघ अन्तिम साताका लागि बोलाएको थियो।
माघ १३ गतेदेखि २० गतेसम्म अप्रेसन गाउँपालिकाका ५ वटै वडाका बच्चादानी खसेका महिलाहरुको अप्रेसन गर्ने कार्यतालिका बनाएरै बिरामीलाई अस्पताल पठाएकोमा ओमिक्रोनको कारण देखाउँदै अस्पतालले सेवा नदिएपछि उनीहरु घर फर्केका थिए। घोषित कार्यतालिका अनुसार १३ गते वडा नं. १ बाँसबोटका महिलाको अप्रेसन गर्ने तय भएको थियो भने १४ र १६ गते वडा नं. २ ताम्लिछा, १७ गते ३ नंं. वडा बाराहा, १८ गते ४ नं. बलम्ता र २० गते ५ नं. जाँतेका महिलाको अप्रेसन गर्ने निश्चय भएको थियो।
ओमिक्रोन घट्दै गएपछि माघ अन्तिममा उनीहरुलाई बोलाइए पनि विभिन्न कारणले अप्रेसन हुन नसक्दा बिरामी महिलाहरु कोही घर फर्कन बाध्य छन् भने कोही खर्च पिट्दै सदरमुकाम बस्न बाध्य छन्। गाउँपालिकाले भने अनुसार एकजना कुृरुवासहित स्वास्थ्य चौकीको सिफारिसपत्र लिएर अस्पताल आएका बिरामीलाई ओमिक्रोन कारण देखाउँदै सार्वजनिक कार्यतालिका अनुसार नहुने भन्दै फर्काइएको थियो।
ओमिक्रोन साम्य भएपछि पुन बोलाइएका उनीहरु फेरी पनि उपचरा पाउन नसकेपछि घर फर्कनु परेको दुखेसो गर्दैछन्। अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. मुकेश झाले पहिले बोलाइएको बेला ओमिक्रोनले सबै स्वास्थ्यकर्मी संक्रमित भएकाले फिर्ता पठाउनु परेको बताए। अर्को पटक बोलाएर अप्रेसन गर्न थालेकोमा गर्भवती महिलाको मृत्यु प्रकरणले अस्पताल तनावग्रस्त भएर काम रोकिदा सेवाग्राहीलाई केही दुःख भएको डा. झाले बताए। अब केही दिनभित्रै उनीहरुको अप्रेसन गर्ने डा. झाले प्रतिबद्धता जनाएका छन्।
यस्तै अस्पतालकी प्रसूति शाखा प्रमुख नर्स छवित्रा राईका अनुसार बिरामीमध्ये ६ जनाको भने अप्रेसन सफल भईसकेको छ। वडा नं. १ बाँसबोटेका ३ जना, २ नं. ताम्लिछाका २ जना र ५ नं. वडा जाँतेका १ महिलाको अप्रेसन भईसकेको र २ जनाको अप्रेसनका लागि बेड भनाई गरिसकेको उनले बताइन्। राईका अनुसार अप्रेसन गर्नुअघि महिलाको स्वास्थ्य अवस्थाबारे राम्रो बुझेर तयारी गर्नुपर्ने भएकाले हतारमा काम गर्न हुँदैन।
कतिपयलाई मधुमेह (सुगर) र उच्च तथा न्यून रक्तचाप (प्रेसर) तथा रक्तअल्पताजस्ता रोगहरु हुने गरकोले अप्रेसनअघि ती सबै रोगबारे जानकारी लिनुपर्ने राई बताउँछिन्। ‘अप्रेसन त गर्ने नै हो तर, त्यसअघि उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी राख्नुपर्छ’ उनले भनिन् ‘स्वासथ्य संवेदनसिलता बुझेर मात्र अप्रेसन गर्नुपर्ने भएकाले हतारमा काम गर्न हुँदैन।’ सेवाग्राहीहरुले तत्काला सेवा नपाउँदा रिसाउने गरेको भन्दै उनले अब पालैपालो सबैको अप्रेसन हुने राईले बताइन्।
लिमचुङबुङ गाउँपालिकाले बच्चादानीको समस्या भएका महिलाहरुको पहिचान गर्दै अप्रेसन गर्न अस्पताल पठाएको जनाएको छ। त्यस्ता महिलाको पहिचान गर्न गत कात्तिक ९ देखि १३ गतेसम्म ५ वटै वडाका स्वास्थ्य चौकीमार्फत ‘महिलाहरुको बच्चादानी स्कृनिङ घुम्ती स्वास्थ्य शिविर’ सञ्चालन गरिएको थियो। शिविरमा परीक्षण गर्दा बच्चादानी खसेका र तल्लो पेटमा समस्या भएका महिलाको निःशूल्क अप्रेसन गर्ने घोषणा गरेर अस्प्ताल पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नौलशेर राईले बताए।
उनले बच्चादानी पीडित महिलाहरुको निःशूल्क अप्रेसन गर्न अस्पताललाई आग्रह गरे अनुसार सहमति भएको बताए। राईका अनुसार लिमचुङबुङका ४२ महिलामा बच्चादानी खस्ने तथा तल्लो पेटको समस्या पाइएको र ती सबैलाई अप्रेसन गर्ने व्यवस्था मिलाइएको छ।
यस्ता बिरामीहरु सबैभन्दा बढी १ नं. वडाको बाँसबोटेमा २२ जना रहेका छन्। उनीहरु सबै निःशूल्क अप्रेसनको पर्खाइमा अस्पताल आएका छन्। २ नंं. वडा ताम्लिछाका ८ जना, ३ नंं बाराहामा ४ जना, वडा नं. ४ बलम्तामा ५ र वडा नं. ५ जाँतेका ४ जना महिला पनि अप्रेसनको पर्खाइमा सदरमुकाम आएका छन्।
गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले गुप्त यौनरोगको रुपमा भित्रभित्रै फैलिएर महारोगको रुप लिने बच्चादानी समस्या महिलाहरुका प्रमुख रोग भएकाले उपचार व्यवस्था मिलाइएको बताए। यो गोप्य अंगमा हुने रोग भएकाले सार्वजनिक नहुने हुँदा गम्भीर र घातक भएर निस्कने समस्या भन्दै त्यस्ता महिलाहरुको पहिचान गरेर निःशूल्क अप्रेसन उपचार व्यवस्था मिलाइएको राईले बताए।
गाउँघरमा यस्ता रोगीहरु धेरै भए पनि लाज र सरम मानेर लुकाईराख्ने हुनाले उपचार अभावमा धेरैको अकालमा ज्यान जाने गरेको छ। समयमा उपचार गर्न पाए निको हुने रोगबाट कसैको ज्यान नजाओस् भनेर उपचार व्यवस्था मिलाइएको गाउँपालिकाको भनाई छ। ‘गुप्त रोग भएकाले बच्चादानी खस्ने र तल्लो पेटको समस्या धेरैजसो महिलालाई हुने गरेको छ’ उनले भने ‘तर, लाज सरम मानेर सार्वजनिक नगर्दा कतिपयको अकालमा ज्यान जाने गरेको छ। त्यसबाट बँचाउन शिविर राखेर अप्रेसनसम्मको उपचार व्यवस्था मिलाइएको हो।’
उदयपुरका बच्चादानी समस्याका महिलाहरुलाई यसअघि धरान, विराटनगर र काठमाडौंमा उपचार गर्नुपर्ने स्थिति थियो। पछिल्लो समय उदयपुर अस्पतालमै दक्ष जनशक्ति र स्रोतसाधनको व्यवस्था भएपछि जिल्लाबाटै उपचार पाउने भए पनि चाहेको बेला सेवा पाउन नसकेको जनगुनासो छ। उदयपुर अस्पतालमा हाल प्रसूति तथा स्त्री रोग विशेषज्ञहरु कार्यरत रहेकाले बच्चादानी पीडित महिलाको अप्रेसन यही हुने अस्पताल प्रमुख डा. मुकेश झाले बताए।
उनका अनुसार अस्पतालमा ३ जना स्त्रीरोग विशेषज्ञ, दुईजना एनेथेसिया (अप्रेसनअघि बेहोस् बनाउने) डा. रहेका छन्। जिल्ला अस्पतालमै दक्ष तथा विशेषज्ञ डाक्टरहरु भएका कारण बच्चादानी, तल्लो पेट, एपेन्डीसाईटिस, फिस्टुला, पायल्सलागयत रोगको अप्रेसन गर्न जिल्लाबाहिर जानुपर्ने अवस्था नरहेको तर, भौतिक उपकरणको भने केही अभाव रहेको डा. झाले बताएका छन्।
प्रकाशित: ७ चैत्र २०७८ १३:२७ सोमबार