रसुवागढी नाकामा कार्यरत मजदुर तथा सवारी चालकको लागि स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै नाकामा कार्यरत ५२ जनाका लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
दुई देशबीच हुने व्यापारमा सहज बनाउनका लागि नेपाल हिमालय सीमापार वाणिज्य संघले पीपीई सेट, सर्जिकल मास्क, सेनिटाइजर तथा तापक्रम नाप्ने थर्मलगन लगायतका सामग्री प्रदान गरेको हो । नाकामा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर चिनियाँ सामग्रीको आयात भइरहेको छ । नाकामा काम गर्नेले पीपीई सेट अनिवार्य लगाउनुपर्ने छ ।
रसुवा भन्सार कार्यालयले आफ्नो कार्यालयभित्र प्रवेश गर्ने सेवाग्राहीहरूको लागि हात धुने, सेनिटाइजर लगाउने तथा ज्वरो नाप्ने लगायतका कार्य गराएको छ । केही दिनयता नाकामा सीमित व्यक्ति बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ ।
कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै नाकामा आवश्यक पर्ने व्यक्ति बाहेक अन्यलाई जोखिम कायम रहँदासम्मको लागि रोक लगाइएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । कोभिड–१९ का कारण अहिले नाकामा उच्च सतर्कता अपनाइएको छ ।
नाकासँग सम्बन्धित कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, व्यापारी, मेसमा काम गर्ने व्यक्ति, सवारी चालक, कामदार बाहेक अन्य ब्यक्ति नाकामा जान नपाउने भएका हुन् । यसका लागि पनि खोपको मात्रा पूरा गरेका र क्वारेन्टिनमा बसेका हुन पर्नेछ । नाकामा प्रवेश गर्दा पीपीइ सेट लगाउनु पर्छ । तोकिएको व्यक्ति बाहेक अन्य व्यक्ति अब नाकाभन्दा डेढ किलोमिटर वर घट्टेखोलामा मात्र जान पाइने छ । पहिले अहिले निर्माण भइरहेको एकीकृत जाँच चौकीसम्म जान पाइन्थ्यो ।
रसुवा भन्सारका कर्मचारी, सुरक्षाकर्मी, चालक, मजदुर, व्यापारी, मेसमा काम गर्नेलाई खोप लगाइएको छ । त्यसैगरी टिमुरेका स्थानीय, रसुवागढी जलविद्युत आयोजना र एकीकृत जाँच चौकीका कर्मचारी तथा कामदारलाई समेत खोप लगाइएको छ । त्यहाँ जानुपर्ने कारणसहित कोही आएको खण्डमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर जान दिन सकिने प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।
प्रकाशित: २३ वैशाख २०७८ १६:३९ बिहीबार