स्वास्थ्य

स्वास्थ्य बिमा कार्यक्रम ६२ जिल्लामा विस्तार

रसुवामा शुक्रबार आयोजना गरिएको ‘स्वास्थ्य बिमा सदस्यता शुभारम्भ’ कार्यक्रम। तस्बिरः हिमनाथ/नागरिक

स्वास्थ्य बिमा कार्यक्रम ६२ जिल्लामा विस्तार भएको छ। शुक्रबार रसुवामा ‘स्वास्थ्य बिमा सदस्यता शुभारम्भ’ कार्यक्रमको सुरु भएसँगै कार्यक्रम ६२ जिल्लामा विस्तार भएको हो।  

आर्थिक वर्ष ०७२/७३ देखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अब १५ जिल्लामा विस्तार हुन बाँकी छ। शुक्रबार जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका पेमा दोर्जे तामाङलाई परिचय पत्र दिएर कार्यक्रमको सुरुवात गरिएको छ।  

स्वास्थ्य बिमा कार्यक्रम परिवारमा आधारित वृहत साझेदारी कार्यक्रम हो। कार्यक्रममा पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५ सय र ५ जना भन्दा सदस्य भएका परिवारले प्रति सदस्य थप ७ सय रुपैयाँ तिर्नुपर्छ। बिमा गराएपछि पाँच जनासम्मको परिवारले वार्षिक १ लाख र सो भन्दा बढी सदस्य भएका परिवारले २ लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्ने पाइने छ।  

कार्यक्रमको सदस्यता दर्ता चक्र अनुसार सेवा क्रियाशील हुने महिना निर्धारण गरिएको छ। बैशाख, जेठ र असारमा गर्नेको भदौ १, साउन, भदौ र असोजमा गर्नेको मंसिर १, कार्तिक, मंसिर र पुसमा गर्नेको फागुन १ र माघ, फागुन र चैतमा गर्नेको जेठ १ गतेदेखि सेवा क्रियाशील हुने स्वास्थ्य बिमा बोर्डले जनाएको छ।  

नेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्ने दीर्घकालीन लक्ष्य अनुसार कार्यक्रम विस्तार गरिएको हो। गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित हुने प्रदेश संयोजक सिर्जना पौडेलले बताइन्।  

स्वास्थ्य बिमा कार्यक्रममा कस्मेटिङ सर्जरी, सहायक उपकरण यन्त्र, दाँतका महंगा उपचार सेवा, कृतिम गर्भाधान, लिंग परिवर्तन लगायतका सेवा समावेश नगरिएको बोर्डले जनाएको छ। दाँत उखेल्ने, संक्रमण नियन्त्रण, सामान्य फिलिङ बाहेकका सेवा पनि बिमामा समोवेश गरिएको छैन। बिमा गराएपछि प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित: २६ मंसिर २०७७ ०६:४१ शुक्रबार