जुम्लाको तिला गाउँपालिका-३ की ५० वर्षीया रत्नकली सुनार घुँडा र छाती दुख्ने समस्याले ग्रसित थिइन् । गाउँमै आएको शिविरमा उपचार पाएपछि उनी अहिले दङ्ग छिन्। सुनार भन्छिन्, ‘आर्थिक अभावले सदरमुकाम खलङ्गा पुगेर उपचार गराउन पाएकी थिइन्। गाउँमै डाक्टर पुगेपछि खुलेरै स्वास्थ्य समस्या राख्न पाएँ। त्यही अनुसारको औषधी र उपचार सेवा पाएँ। शिविर गाउँमा नआएको भए हामीजस्ताले डाक्टरलाई कहाँ भेट्थ्यौँ र ?”
तिला गाउँपालिका-३ की ६० वर्षीय हरि बहादुर खत्री स्वास्थ्य शिविर सञ्चालन भएको थाहा पाएपछि स्वास्थ्य चौकी पुगे। “हड्डी, ढाड, तालु खाइन्छ, धेरै दुख्छ,” उनले भने। गाउँमा सबैले विशेषज्ञ स्वास्थ्य शिविर भइरहेको सुनेपछि आएको बताउँदै उनले भने, “गाउँमा विशेषज्ञ शिविर बसेको थाहा पाए। त्यसैले आएँ। गाउँमै डाक्टर भेट्दा मनै रमायो।,”
तिला गाउँपालिकाले दुई स्वास्थ्य चौकीमा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको थियो। तिलाको घोडेमहादेव र कुडारी स्वस्थ्यचौकीमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविरबाट ७ सय ६५ जनाले स्वास्थ्य सेवा लिएका छन्। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विशेषज्ञ टोली शिविरमा खटिएको थियो।
प्रतिष्ठाका अस्पताल निर्देशक तथा विशेषज्ञ डाक्टर पुजन रोकाया, डा राजेन्द्र गिरी, शम्भु कुमार यादव, डा टंक आचार्य, डा तुफान कठायत र डा अरूण उप्रेती गाउँपालिकाका स्वास्थ्यकर्मीको टोली स्वास्थ्य शिविरमा थियो।
प्रकाशित: १६ वैशाख २०८२ १८:१६ मंगलबार