ताप्लेजुङमा स्वास्थ्य बीमा बोर्डको कार्यालय स्थापना भएयता १८ हजार भन्दा बढी सदस्य स्वास्थ्य बीमामा आबद्ध भएका छन्। यो २०८१ साल पुस १४ गते सम्मको तथ्याङ्क हो। ताप्लेजुङमा २०७७ सालमा स्वास्थ्य बीमा बोर्डको कार्यालय स्थापना भएको हो।
स्वास्थ्य बीमा बोर्डका ताप्लेजुङ शाखा प्रमुख गंगा लुइँटेलका अनुसार यहाँका कूल १८ हजार ४ सय ३ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्। लुइँटेलका अनुसार साधारणतर्फ १२ हजार ५ सय ७५ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्। यसै गरी ज्येष्ठ नागरिकतर्फ ३ हजार १ सय ६३ जना,महिला स्वास्थ्य स्वयंसेविकातर्फ १ हजार ७ सय ७५ जना,अपाङ्गता भएका व्यक्तिगततर्फ ८ सय ७९ जना र एचआइभी संक्रमित भएका सदस्यतर्फ ११ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्डको ताप्लेजुङ शाखा कार्यालयले जानकारी दिएको छ।
लुइँटेलका अनुसार स्वास्थ्य बीमामा आबद्ध हुने ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति र एचआइभी संक्रमित भएका सदस्यका घरमा जतिसुकै परिवार सदस्य भएपनि बीमा शुल्क लाग्दैन। साधारणतर्फ ५ जना सदस्य भएका परिवारलाई ३ हजार ५ सय र सो भन्दा बढी सदस्य भएमा प्रत्येक सदस्यको थप ७ सय रुपैयाँका दरले बीमा शुल्क(प्रिमियम)लाग्ने छ। यस्तै महिला स्वास्थ्य स्वयंसेविकाको हकमा साधारणतर्फका परिवारका सदस्यले तिर्नुपर्ने बीमा शुल्कको आधा रकम लाग्ने लुइँटेले जानकारी दिइन्। ५ जनासम्मको सदस्य रहेका साधारण परिवारले ३ हजार ५ सय रुपैयाँ योगदान रकम बुझाउँदा प्रति परिवार प्रति वर्ष रु १ लाख सम्मको सेवा प्राप्त गर्नेछ। ५ जना भन्दा बढी सदस्य रहेका साधारण परिवारको हकमा ३ हजार ५ सयका अतिरिक्त थप प्रति सदस्य ७ सय रुपैयाँका दरले योगदान रकम बुझाउनु पर्ने हुन्छ।
उक्त परिवारलाई सरकारकातर्फ प्रति सदस्य थप २० हजार रुपैयाँका दरले स्वास्थ्य सेवा थप्दै प्रति वर्ष अनिकतम् २ लाख रुपैयाँ सम्मको सेवा प्रदान हुने व्यवस्था मिलाइएको छ । स्वास्थ्य बीमाका लागि प्रत्येक वडामा बीमा प्रतिनिधि तोकिएका छन् । उनीहरुलाई दर्ता सहयोगी भन्ने गरिएको छ । दर्ता सहयोगीमार्फत बीमामा आबद्ध हुने व्यक्ति वा परिवारको बीमा शुल्क सहित दरखास्त संकलन गरिन्छ । बीमा प्रतिनिधिहरूले स्वास्थ्य बीमामा आबद्ध भएका व्यक्तिहरूको फाराम जिल्लास्थित स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पेश गरेपछि त्यसको एकीकृत प्रतिवेदन तयार गर्ने र अभिलेख व्यवस्थापन गर्ने काम जिल्लास्थित बीमा बोर्डको कार्यालयले गर्ने गरेको छ।
बिरामी भएको बेला उपचारमा हुन सक्ने ठूलो खर्च धान्न कठिन नहोस् भनेर पहिले नै योगदान रकममार्फत जोखिम व्यवस्थापन गर्ने कार्यक्रम नै स्वास्थ्य बीमा कार्यक्रम हो। यसले स्वास्थ्य सेवा उपयोगका क्रममा अनियोजित रुपमा भइरहेको व्यक्तिगत खर्चलाई व्यवस्थित गर्दै उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापन गर्न मद्दत गर्दछ। यसले गुणस्तरीय स्वास्थ्य सेवा उपभोगको माध्यम मिलाउँछ, जसबाट अप्रत्याशित स्वास्थ्य हानीको कारणले हुने आर्थिक जोखिमबाट बच्न सकिन्छ । स्वास्थ्य बीमा नाफामूलक र व्यावसायिक कार्यक्रम नभई सेवामूलक सामाजिक सुरक्षा कार्यक्रम हो। यो सरकारी अभियान हो।
प्रकाशित: १५ पुस २०८१ ११:५५ सोमबार