स्वास्थ्य

भूकम्प प्रभावितलाई टाइफाइडविरुद्धको खोप लगाइँदै

भूकम्प प्रभावित जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु हुने भएको छ। जुम्लामा पुस ८ देखि १३ सम्म खोप अभियान सञ्चालन गरिने भएको हो, जसमध्ये जुम्लाका ५४ हजार ६ सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।

सापकोटाका अनुसार पहिलो चरणमा पुस ८ देखि १० सम्म कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछन्। दोस्रो चरणमा पुस ११ देखि १३ सम्म चन्दननाथ नगरपालिकासहित गुठीचौर, पातारासी, तातोपानी र तिला गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने छ।

सरकारको भूकम्पप्रभावित जिल्लाहरुमा खोप अभियान २०८०-८१ अन्तर्गत जुम्लाका (१६ देखि ४५ वर्ष उमेर समूह) का ५४ हजार ६ सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको हो। जुम्लाको जनसंख्या करिब एक लाख २० हजार बढी छ, जसमध्ये खोप उमेर समूहका साढे ५४ हजारलाई खोप लगाइने तयारी छ।

कर्णालीका सात जिल्लामा खोप अभियान सञ्चालन गरिने छ। जाजरकोट, रुकुम (पश्चिम), दैलेख, जुम्ला, सल्यान, कालिकोट र सुर्खेतमा खोप अभियान सञ्चालन हुने छ। जुम्लामा खोप अभियान अवधिभर एक सय २० जना खोप कार्यकर्ता, दुई सय ४० जना स्वयंसेवक परिचलान हुनेछन् भने तीन सयवटा खोप सेसन सञ्चालन हुनेछन्।

कुनै खोप लगाएर एलर्जी भएका, एड्स भएको अवस्था, हालै उच्च ज्वरो, सिकिस्त बिरामी भएको, गर्भवती महिला र ६ महिनाभित्र स्तनपान गराइरहेका महिलालाई भने टाइफाइडविरुद्धको खोप नलगाइने प्रमुख सापकोटा बताउँछन्।

जुम्लामा सरोकारवालाको बैठकले खोप अभियानलाई प्रभावकारी बनाउने अठोट गरेका छन्। खोप समन्वय समिति जुम्लाका अध्यक्ष तथा समन्वय प्रमुख गौरीनन्द आर्चायले जुम्लाका ५४ हजार बढी स्थानीयलाई नछुट्ने गरी खोप अभियान सफल गर्नुपर्ने बताए।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले खोप अभियान सफल बनाउन र सबै नागरिकलाई खोपको पहुँचमा ल्याउन सबै पक्षले प्रचारप्रसारमा जोड दिनुपर्ने बताए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधि डा. पुरुषोत्तम सडाईंले कुनै पनि क्षेत्रमा भूकम्पलगायतका विपद्पछि टाइफाइडको प्रकोप फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले खोप अभियान सञ्चालन गरेको बताए।

रोग प्रतिरोधात्मक क्षमता बढाउन टाइफाइडविरुद्धको खोप लगाउन अनिवार्य छ। खोपबाट कोही नछुटून्, कोही नदोहोरियून् भन्दै शतप्रतिशत नागरिकलाई खोपको पहुँचमा पु¥याउने सरकारी लक्ष्य छ।

प्रकाशित: ६ पुस २०८० ०३:४२ शुक्रबार

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्ला भूकम्प प्रभावितलाई टाइफाइड खोप पुस ८ देखि १३ सम्म ५४ हजार ६ सय ३५ जना