अर्थ

कुखुरा मासुको मूल्य आकासियो, प्रतिकेजी रु ३४० सम्म

लुम्बिनी (रुपन्देही)–रुपन्देहीमा बोइलर कुखुराको मासुको मूल्य आकासिएको छ। जिउँदो कुखुराको अभाव देखाउँदै व्यवसायीले कुखुराको मूल्य पछिल्लो चार-पाँच महिनायताकै उच्च बनाएका छन्। एक हप्तासम्म प्रतिकेजी रु २५० देखि रु २८० सम्ममा पाउँदै आएको कुखुराको मासु अहिले भने रु ३२० देखि रु ३४० सम्म पर्ने गरेको छ।व्यावसायीहरुले पसलै पिच्छे आ–आफ्नै किसिमले मूल्य निर्धारण गरी बिक्री गर्दैआएका छन्। मासु व्यवसायी सङ्घले मासुको मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरे पनि व्यवसायीले त्यसलाई टेरेका छैनन्।

रुपन्देही सदरमुकाम भैरहवामा अन्य क्षेत्रको तुलनामा बाइलर कुखुराको मूल्य उच्च रहेको सिद्धार्थनगर–८ भैरहवाका स्थानीयवासी हिमाल थापाले बताए। प्रायःजसो कुखुराको मासु खाने बताउनु हुने थापाले सम्बन्धित निकायले अनुगमनलाई प्राथमिकता नदिँदा व्यवसायीहरुले मनपरी रुपमा मूल्य निर्धारण गरी बिक्री गर्दै आएको बताए।

विगत लामो समयदेखि मासु व्यवसाय गर्दैआउनु भएका कलाम खानले बजारमा जिउँदो कुखुराको अभाव भएपछि मागअनुसार मासु पुर्याएउन नसकी मूल्य बढेको जानकारी दिए। रासस

प्रकाशित: २७ माघ २०७१ ०५:५७ मंगलबार