अर्थ

बाग्लुङको बजेट २ अर्ब ६२ करोड

बाग्लुङ, फागुन ३० (नागरिक)-जिल्ला विकास समितिले आर्थिक वर्ष २०७०/७१ कोलागि साढे दुई अर्बको बजेट पारित गरेको छ। २१ औं जिल्ला परिषद बैठकले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो।  
२ अर्ब ६२ करोड ६५ लाख रुपैयाँको बजेट सर्वदलीय संयन्त्रले पारित गरेर सार्वजनिक गरिएको स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले बताए। बजेटमा १ अर्ब २२ करोड ५८ लाख रुपैयाँ पुँजीगत र १ अर्ब ४० करोड ७ लाख रुपैयाँ चालुतर्फ विनियोजन गरिएको छ।
बजेटमा सरकारी कार्यालयको १ अर्ब ९३ करोड ५१ लाख रुपैयाँ र गैरसरकारी क्षेत्रको ६९ करोड १४ लाख रुपैयाँ रहेको योजना तथा प्रशासकीय अधिकृत यामकान्त पाण्डेले बताए।

जिविसले कुल बजेटको ३५ प्रतिशत रकम लक्षित वर्गका लागि छुट्याइएको छ। अन्य ६५ प्रतिशत रकम विकास निर्माण लगायत कार्यक्रममा विनियोजन गरिएको कार्यक्रम अधिकृत भेषराज शर्माले बताए। जिविसले पूर्वाधारअन्तर्गत सडक निर्माणका लागि सबैभन्दा धेरै बजेट १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ। जिल्लाको प्रमुख सडकअन्तर्गत बुर्तिबाङ, खुङ्गा, बोङ्गादोभान तमान सडकका लागि १६ लाख, कुश्मिसेरा, सर्कुवा बिनामारे, अर्जेवा, जैदी छिस्ती सडकखण्डलाई १४लाख रुपैयाँ छुट्याइएको छ। इलालाका स्तरबाट माग भई आएका योजनालाई प्राथमिकतामा राखेको स्थानीय विकास अधिकारी पौडेलले बताए।

जिविस परिषदमा जिल्ला शिक्षा कार्यालयले ९६ करोड ७८ लाख ८३ हजार ५सय ८५ रुपैयाँ, जिल्ला वन कार्यालय २४ लाख ७५ हजार, ढोरपाटन सिकार आरक्ष ८६ लाख २५ हजार,शहरी विकास तथा भवन डिभिजन कार्यालय १ करोड २० लाख ७६ हजार, कृषि कार्यालय १ करोड ७५ लाख २५ हजार, पसु सेवा कार्यालय २ करोड २६ लाख २० हजारको बजेट प्रस्ताब गरेका छन्। त्यसैगरी स्वास्थ्य कार्यालय १२ करोड ७१ लाख ४३ हजार २ सय, भू संरक्षण कार्यालय १ करोड २ लाख, खानेपानी कार्यालय ५ करोड २५ लाख ९६ हजार, विद्युत प्राधिकरण,८ करोड ३० लाख, घरेल तथा साना उद्योग विकास समिति८४ लाख ८६ हजार, पश्चिमान्चल सिंचाई विकास डिभिजन ४ करोड ३० लाख २५ हजार, डिभिजन सहकारी ६० लाख ८६ हजार, महिला तथा वालवालिका १ करोड २३ लाख ८२ हजार, अंचल आर्युवेद २३ लाख २७ हजार, लघु उद्यम विकास कार्यक्रम १५ लाख ४० हजार रुपैयाँ , पश्चिमान्चल सडक डिभिजन कार्यालय १० करोड १० लाख रुपैयाँको बजेट प्रस्ताब गरेका छन्। बाग्लुङ नगरपालिकाले आठ करोड रुपैयाँ बजेट पारित गरेको छ। नगरपालिकाले आगामी आबको लागि ४ करोड ७७लाख ७६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो। सो सहित जगेडा कोषबाट २ करोड, शहरी शासकीय क्षमता विकास कार्यक्रमबाट १ करोड गरी कुल करिब आठ करोड रुपैयाँ खर्चिने बाग्लुङ नगरपालिका कार्यकारी अधिकृत यदुनाथ पौडेलले बताए।

प्रकाशित: २९ फाल्गुन २०६९ १२:४६ मंगलबार