प्रवास

आइटी क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण स्रोत : कार्यवाहक राजदूत दुवाडी

लन्डनस्थित नेपाली दूतावासमा ब्रिटेन-नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) ले व्यावसायिक तथा नेटवर्किङ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नेपाल-बेलायत व्यापारिक सम्बन्ध, प्रविधि क्षेत्रको सम्भावना तथा व्यवसाय विस्तारका विषयमा छलफल गरिएको थियो।

आईटी विज्ञ तथा व्यवसायीहरूको भेलालाई सम्बोधन गर्दै लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल र बेलायतबिच व्यापारिक सम्बन्ध विस्तारमा बीएनसीसीले निरन्तर गर्दै आएको प्रयासको प्रशंसा गरे।

दुवाडीले नेपालको युवा जनसंख्या र उच्चस्तरको आईटी साक्षरतालाई मुलुकका महत्त्वपूर्ण प्रतिस्पर्धात्मक क्षमता भएको बताए। नेपाली आईटी कम्पनीहरूले विश्वका विभिन्न मुलुकका व्यवसायलाई प्रविधिसम्बन्धी सेवा प्रदान गरिरहेको उल्लेख गर्दै उनले सरकारले आईटी क्षेत्रलाई नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण स्रोतका रूपमा थप विकास गर्न चाहेको बताए।

कार्यक्रममा काठमाडौंस्थित ब्रिटिश दूतावासको व्यापार तथा वाणिज्य विभागका प्रमुख अनुप श्रेष्ठ, नास-आइटीका उपाध्यक्ष विभूषण विष्ट, वेस्ट लन्डन चेम्बर अफ कमर्सकी उपाध्यक्ष डा रेणु राज तथा चिल्ड्रेन भिजनका रमेश सिलवालले मन्तव्य राखेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा चण्डीराज ढकाल, डा रोहिथा सिल्वाललगायतको उपस्थिति रहेको थियो। बीएनसीसीका अध्यक्ष बिराज भट्टले सहभागी सबैलाई धन्यवाद दिँदै नेपाल र बेलायतबिच व्यापार तथा व्यवसाय प्रवर्द्धन र सहजीकरणमा बीएनसीसीले खेल्दै आएको भूमिकाबारे प्रकाश पारे।

कार्यक्रममा सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री तथा नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आइटी) का प्रतिनिधिमण्डलसहित बेलायतमा रहेका व्यवसायी, प्रविधि क्षेत्रका विज्ञ, पेशाकर्मी तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बीएनसीसीका उपाध्यक्ष इन्द्र गिरीले सञ्चालन गरेको कार्यक्रममा सुरुवातमै नेपालमा हालै आएको बाढी तथा ‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मान र श्रद्धाञ्जलीमा उपस्थित सबैले एक मिनेट मौनधारण गरेका थिए।

प्रकाशित: २५ भाद्र २०८३ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App