प्रवास

एनआरएन चीनमा चेतानी

हङकङ -गैरआवासीय नेपाली संघ चीनको अध्यक्षमा सञ्जय कुमार चेतानी चयन भएका छन् । चेतानीको अध्यक्षतामा २६ साउनमा निर्विरोध रुपमा चयन गरिएको १२ सदस्यीय नयाँ कार्य समितिलाई ३० साउनको चौथो अधिवेनबाट अनुमोदन गरी सपथ गराइएको हो ।नयाँ कार्य समितिको उपाध्यक्षमा नविन विक तथा महासचिवमा निर्मल शर्मा चौलागाईं चयन भएका छन् । रोहित अग्रवाल कोषाध्यक्ष, सुवोध श्रेष्ठ सचिव, तीर्थ पौडयाल युवा संयोजक तथा खुस्वु अग्रवाल महिला संयोजक छनोट भएका छन् । अध्यक्ष चेतानी सहितका पदाधिकारी लामो समयदेखि चीनमा रहेर व्यापारमा संलग्न रहँदै आएका छन् । चिरञ्जीवी ज्ञवाली, खामसुङ गुरुङ, यमबहादुर ज्ञवाली, बलराम तामाङ र विकाश रिजाल सदस्यमा चयन भएका छन् ।

नेपाली व्यापारीहरूको आवासीय क्षेत्र दक्षिण चीनको ग्वान्झाओस्थित क्राउन प्लाजा होटलमा आयोजना गरिएको अधिवेशनमा एनआरएनए एसिया क्षेत्रीय संयोजक गंगा राई, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार त्रिलोक गुरुङ तथा सदस्य जेएन ज्ञवाली र हङकङका नव निर्वाचत अध्यक्ष ललित लिम्बु सहभागी भएका थिए ।

नेपाली र चिनियाँ साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको अधिवेशनमा दुई सय बढी गैरआवासीय नेपाली सहभागी भएको नव निर्वाचित महासचिव निर्मल चौलागाईंले बताए । समारोहमा भूकम्पपछि नेपालमा राहत सहयोग गर्ने व्यक्तिहरूलाई प्रशंसा–पत्र दिएर सम्मान गरिएको थियो । निर्वाचन आयुक्त रञ्जन ढकालले नयाँ कार्यसमिति घोषणा गरेपछि क्षेत्रीय सदस्य गंगा राईले दुई वर्षे कार्यकालको सपथ गराएका थिए ।

ग्वान्झाओमा रहेका नेपाली व्यापारीहरूको पहलमा सन् २००५ मा एनआरएनए चीन च्याप्टर स्थापना भएको थियो । एनआरएनए चीनले यहाँ रहेका नेपाली व्यापारी र विद्यार्थीलाई सहयोग पु¥याउनुको साथै नेपालमा दैवी प्रकोप प्रभावितलाई राहत तथा अन्य सहयोग गर्दै आएको छ । नयाँ कार्य समितिले बेइजिङस्थित दूताबाससँग समन्वय गरी नेपालीको व्यापार सहज बनाउने र पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष चेतानीले बताए ।

प्रकाशित: ३१ श्रावण २०७२ २१:१६ आइतबार