हङकङ-हङकङ चुनवानमा एक नेपाली युवकले सानी–आमाको घाँटी रेटेर हत्या गरेका छन्। हङकङ आइडीमा सन्देश लावती नाम रहेका २१ वर्षीय लिङदेन थरका ती युवकले सानी–आमा नैनकला साम्सोहाङ लिम्बूको सोमबार बिहान सबेरै चक्कु प्रहार गरी हत्या गरेका हुन्।
आक्रमणलगत्तै फरार सन्देशलाई हङकङ सरकारले ‘वान्टेड फर मर्डर' सूचना दिएर खोजी गरिरहेको छ।चुनवानस्थित चुङलुङ स्ट्रिटको यान ओय भवनको पाँचौं तलामा बिहान ६:१५ बजे घटना भएको हो। लावतीको आक्रमणबाट सँगै बस्ने दुई नातेदार महिला गम्भीर घाइते छन्। हङकङ सरकारको सूचना विभागले बिहान ७ बजे आक्रमणबारे जानकारी पाएको र प्रहरी तत्कालै घटनास्थल पुग्दा टाउको, हात र ढाडमा चक्कु प्रहार गरिएको अवस्थामा भान्सा कोठामा अचेत भेटिएकी महिलाको मृत्यु भएको जनाएको छ। शव पोस्टमार्टमका लागि दिउँसो अस्पताल पठाइएको छ।
टाउको र हातमा गम्भीर चोट लागेको अवस्थामा ४२ वर्षकै अर्की महिला नातेदरलाई क्वाइचुङस्थित प्रिन्स मार्गरेट अस्पताल राखिएको प्रहरीले जनाएको छ। ‘मृतक महिलामाथि बिहान ६:१५ बजे भान्सा कोठामा आक्रमण भएको हाम्रो अनुसन्धानले देखाएको छ,' चुनवानका सहायक जिल्ला प्रहरी कमान्डर एरिक हो चुनचुङले घटनास्थलमा सञ्चारकर्मीलाई भने, ‘नातेदार महिला उठेर आक्रमणकारीलाई रोक्न खोज्दा घाइते भएपछि बाहिर भागेर ज्यान जोगाएकी थिइन्।'
प्रहरीको ठूलो जत्थाले घरवरिपरिका पसल बन्द गर्न लगाएर आक्रमणकारीको खोजतलास गरेको थियो। प्रहरीले आक्रमणमा प्रयोग गरिएका हुनसक्ने तीन चक्कु बरामद गरेको छ। आक्रमणकारी भाग्दै गरेको सिसिटिभी फुटेज सार्वजनिक गरी खोजी गरिरहेको छ। सूचना विभागले आफ्नो वेभपेजमा फोटो विवरणसहित आक्रमणकारी युवक नेपाली नै रहेको किटान गरी हाल उससँग हतियार नभए पनि सचेत रहन आग्रह गरेको छ।
सञ्चारकर्मी कृष्णराज लावतीले आक्रमणबाट एकजना मारिएको र सँगै बस्ने दुई नातेदार महिला गम्भीर घाइते भएको अवस्थामा भेटिएको बताए। ४२ वर्षीय मृतक नैनकला सामसुहाङ लिम्बू आफ्ना श्रीमान् वीरु लावती, ७ वर्षीय कान्छो छोरा, अन्य दुई नातेदार महिला र आक्रमणकारी दिदीको छोरा सन्देशसँगै बस्थिन्। लावतीका अनुसार काममा हिँडिसकेकाले श्रीमान् र सुतिरहेकाले कान्छो छोरा आक्रमणबाट जोगिएका छन्। नैनकलाको जेठो छोरा अध्ययन सिलसिलामा भारतमा छन्।
झापाको लावती परिवार १९९६ मा हङकङ आएको थियो। नेपालमा रहेकी दिदीको छोरालाई नैनकलाले सन्देश लावती नामको आइडी बनाएर आफ्नै छोराको रुपमा दुई वर्षअघि हङकङ ल्याएकी थिइन्। निर्माण क्षेत्रमा मजदुरी गर्ने सन्देश हङकङमा गुण्डागर्दीमा संलग्न नेपाली केटाहरूको संगतमा फसेको पाइएको छ। मानसिक रुपमा अस्वस्थ उनी नेपालमा उपचार गरी केही महिनाअघि हङकङ फर्केका थिए।
प्रकाशित: २ भाद्र २०७१ १९:४३ सोमबार