आफ्नो नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) को जितलाई गुजरात विकास मोडलको जनअनुमोदनका रूपमा अर्थ्याउँदै मोदीले त्यसलाई पूरै भारतमा विस्तार गरिने बताएका छन्। गुजरातको मुख्यमन्त्री हुँदा चीनसँग आर्थिक सम्बन्ध बनाएका मोदीले सोमबार दिल्लीको राजपाठ सम्हाल्ने खबरले बेइजिङमा एक किसिमको उत्साह ल्याएको छ। चीन सरकारको ‘थिंक ट्यांक' चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सिआइसिआइआर) का दक्षिण तथा दक्षिण पूर्व एसिया निर्देशक हु सिसेङका अनुसार भारतमा अब हुने आर्थिक सुधारले क्षेत्रीय सम्बन्धमा ठूलो परिर्वतन ल्याउनेछ।
‘मोदीको विजयको अर्थ दिल्लीमा ठूलो कार्यकारी अधिकारसहितको सक्षम र स्थिर सरकारको गठन हो, त्यो चीन–भारत सम्बन्ध अनुकूल हुनेछ,' हु सिसेङले गत शनिबार नागरिकलाई पठाएको इमेलमा भनेका छन्, ‘अब त्रिपक्षीय सहमतिमा नेपालका ठूला जलविद्युत आयोजनाको विकाससहित चीन र भारतले यस क्षेत्रको एकता र भौतिक सम्पर्क (सडक र रेलमार्ग) विस्तारमा धेरै सहकार्य गर्न सक्नेछन्।'
नेपालका ठूला जलविद्युत आयोजना तथा सडक र रेलमार्ग विस्तारमा लगानी गर्न भारत र चीन दुवै इच्छुक छन्। तर नेपाल लगायत यस क्षेत्रको पूर्वाधार निर्माणमा चीनको लगानीप्रति दिल्ली र बेइजिङबीच समझदारी बन्न नसक्दा काठमाडौंले ठूला आयोजना अगाडि बढाउन कठिनाइ सामना गर्दै आएको छ। मोदी नेतृत्वको सरकार चीन–भारत सम्बन्धमा सहयोगी हुने र त्यसको प्रभाव नेपाल लगायत यो क्षेत्रमै पर्ने बताउँदै हुले भने, ‘दुई देशका सरकार मिलेर अमेरिकी प्रभाव सन्तुलन गर्दै क्षेत्रीय आर्थिक व्यावस्थापनतर्फ अगाडि बढ्न सक्छन्, खासगरी पूर्वाधार निर्माणमा एकीकृत लगानी हुनसक्छ।'
बेइजिङमा दक्षिण एसिया मामिलाका अर्का प्रोफेसर मा जियलीले चीन–भरत सिमा विवादमा केही जटिलता आउन सक्ने संकेत गर्दै मोदी प्रधानमन्त्री भएपछि समग्रमा दुई देशको सम्बन्ध सुधार हुने बताए। ‘मलाई विश्वास छ भारतका नयाँ प्रखर नेता मोदीले छिमेकी देशहरूसँग राम्रो सम्बन्ध राख्नेछन्, यो उनका लागि प्रारम्भिक काम हो,' चाइना सेन्टर फर स्ट्राटेजिक स्टडिजका उपनिर्देशक माले इमेलमा भने, ‘नेपाल परम्परागत रूपमै चीन, भारत दुवैको मित्र देश हो, भारतको नयाँ नतृत्वले चीन र नेपाल दुवैसँग अझै नजिकको सम्बन्ध राख्ने आशा छ।'
भारतको निर्वाचन परिणामलाई भाजपाभन्दा मोदीको विजयका रूपमा अर्थ्याइएको र त्यसको कारण गुजरातको आर्थिक विकासमा उनको प्रभावकारी प्रदर्शन नै रहेको सिआइसिआइआरका हुको विश्वास छ। ‘जुन सरकारले व्यापार गर्न सक्छ चीन त्योसँग सम्बन्ध राख्न चाहन्छ,' हु भन्छन्, ‘अर्कोपटक फेरि निर्वाचित हुन मोदीले आगामी पाँच वर्ष आर्थिक सुधारमा केन्द्रित हुनुपर्छ, यदि उनी त्यसो गर्न चाहन्छन् भने चीन–भारत सम्बन्ध स्थिर रहनेछ।'
गुजरातको मुख्यमन्त्री रहँदा मोदीले आर्थिक विकासको अध्ययन गर्न पूर्वी चीनको भ्रमण गरेको स्मरण गर्दै प्रोफेसर माले भने ‘मोदी चीनसँग आर्थिक सम्बन्ध विस्तार गर्न निकै इच्छुक छन्, त्यसैले भारतको विकासमा पनि चीनले महŒवपूर्ण भूमिका खेल्न सक्छ।'
प्रकाशित: ७ जेष्ठ २०७१ २०:३० बुधबार