प्रवास

बेलायतका नेपाली भन्छन्- 'देशलाई भुँग्रोबाट निकालौं'

लण्डन (बेलायत)- अध्ययनका लागि सात वर्षदेखि बेलायतमा रहेका पुष्पराज पन्तलाई देशको बिग्रिँदो अवस्थाले चिन्तित तुल्याएको छ। हरेक दिन नेपालबारे अपडेट हुने उनी पछिल्लो समय देश भुंग्रोमा फसेको बताउँछन्। 'जति टाढा भए पनि हिंसाको रापले हामीलाई बेचैन बनाएको छ,' उनी भन्छन्, 'अब सबै मिलेर देशलाई थप जल्नबाट जोगाउनुपर्छ।'ब्रिस्टलस्थित युनिभर्सिटीमा अध्ययनरत पन्त यही कारण पछिल्लो समय आफूमा 'फ्रस्टेसन' बढेको बताउँछन्। निकट भविष्यमा एउटा 'प्रोजेक्ट' लिएर नेपाल जाने योजना बनाएका उनले देशको बिग्रिँदो अवस्थाका कारण त्यसलाई स्थगित गरेका छन्। अहिले नेपाल जान खोज्नु जानजान आगोको भुंग्रोमा हामफाल्नुजस्तै हुने उनको बुझाइ छ।

संघीयताको विवादलाई लिएर दन्केको हिंसाको रापले सात समुद्र टाढा रहेका पन्तजस्ता थुप्रै नेपालीलाई पिरोलेको छ, जति नेपालभित्रै रहेका नेपाली पिरोलिएका छन्। बेलायतमा रहेका करिब डेढ लाख हाराहारी नेपाली स्वदेशमा दन्किएको हिंसाको रापले बेचैन छन्।

भूतपूर्व गोर्खा सैनिक बुवासँग आश्रित भएर पाँच वर्षअघि बेलायत आएकी धरानकी ऋतु राईको मन बेलायतको शान्तिले बुझाउन सकेको छैन। जन्मे–हुर्केको मातृभूमिमा जुनसुकै घटना हुँदा मन थाम्न गाह्रो हुने उनी बताउँछिन्। 'पहिले भूइँचालोले मनको शान्ति खलबल्यायो, अहिले मारकाट भइरहेको खबर सुन्दा दुःख लाग्छ,' परिवारका साथ अक्सफोर्ड सिटीमा बसोबास गर्ने उनले भनिन्, 'देश छोडेर आएपछि सानातिना घटनाले पनि मन कुँडिदोरहेछ।'

बेलायत नेपाली समुदायको बाक्लो बसोबास भएको देश हो। अध्ययन, रोजगारी र स्थायी बसोबासका लागि यहाँ नेपालीको आकर्षण देखिन्छ। देशलाई अप्ठेरो परेका बेला सहयोग गर्ने उनीहरु अनायसै हिंसा बढेपछि चिन्तित छन्। स्वदेशमै गएर भविष्य यात्रा तय गर्ने सपना देखेका नेपालीलाई त हिंसाले झन् निराश बनाएको छ।

इस्टन लन्डनमा व्यवसाय गरेर बसेका सुर्खेतका बखत खड्का केही वर्षपछि नेपालमै बसोबास गर्न चाहन्छन्। डेढ दशकसम्म बेलायत बस्दा आर्जन गरेको अनुभव र सीपलाई नेपालमा लगेर प्रयोग गर्ने उनको सपना छ तर बढ्दो हत्या–हिंसाले उनी अन्योलमा परेका छन्। 'यस्तै भए त कसरी जान सकिएला र!' उनले भने, 'शान्ति र स्थायित्व नहुँदासम्म त्यहाँ (नेपाल) गएर काम पनि छैन।'

बाढी–पहिरो होस् वा भूकम्प, एक वर्षयताका दुवै प्राकृतिक प्रकोपले निम्त्याएको पीडा कम गर्न बेलायतमा रहेको नेपाली समुदाय एकजुट भएर लाग्यो। उनीहरुले आर्थिक संकलन गरेर नेपालमा राहत पनि पठाए। राजनीतिक कारणले देखिएको अहिलेको पीडामा भने उनीहरू मौन छन्। अनलाइन मिडियामार्फत देशबारे अपडेट भइरहने उनीहरु दिनहुँका दुःखदायी घटना सुनेर सुस्केरा हाल्छन्। एक–आपसमा भेट हुँदा 'देश त खत्तम भयो' भन्दै दुःखमनाउ गर्छन्। एक दशकअघि बेलायत आएका विनोदविक्रम सिंखडाले नागरिकसँगको भेटमा पछिल्लो घटनाबारे गहिरो चासो राख्दै भविष्यको चिन्ता पोखे। 'एकाएक यस्तो कसरी भयो?' उनले भने, 'यस्तै अवस्था रहे त देश खत्तम हुने भयो।'

पन्तको विचारमा राजनीतिक नेतृत्वको कमजोरी र देश चलाउन आवश्यक प्रणालीको खराबीले अस्थिरता बढेको हो। देशलाई सही ट्र्याकमा ल्याउन सबैभन्दा पहिले राजनीतिक दल अग्रसर हुनुपर्ने उनी बताउँछन्। 'हामीले भूकम्पको बेला सक्दो सहयोग गर्यांलै, अहिले आएर राजनीतिले यस्तो पीडा ल्याइदियो,' उनले भने, 'यस्तो अवस्थामा हामीले यहाँ बसेर के नै पो गर्न सक्छौँ र!'

ऋतु भने देशले भोगेको पीडा कम गर्न हरेक नागरिक उत्तिकै सहभागी हुनुपर्ने बताउँछिन्। स्वदेशमा रहेका नेपाली होउन् वा विदेशमा, सबैले देशबारे चिन्ता गर्नुपर्ने उनको भनाइ छ। 'सरकारलाई मात्र दोषको भारी बोकाएर देश बन्दैन,' उनले भनिन्, 'समस्या समाधान गर्नु सबै ठाउँमा रहेका नेपालीको समान दायित्व हो।'

प्रकाशित: २४ भाद्र २०७२ २०:४६ बिहीबार