१६ असार २०७९ बिहीबार
निर्वाचन विशेष

मधेसमा ‘नेवार’, नेवाःमा ‘मधेसी’

वीरगन्ज महानगरपालिका–३२ का विजय पन्जियार (चौधरी) लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा बढी चासो छ–काठमाडौं महानगरपालिकाको नतिजाप्रति। बाराको जितपुर बजारमा औषधि पसल चलाउँदै आएका चौधरीले वीरगन्जमा नेवार समुदायका राजेशमान सिंह र काठमाडौंमा मधेसी मूलका बालेन्द्र साहले मेयरमा जितेको हेर्न आतुर रहेको बताए। ‘मलाई अन्य ठाउँको भन्दा पनि वीरगन्ज र काठमाडौंको बढी चासो छ,’ नागरिककर्मीले गरेको टेलिफोन सम्पर्कमा उनले भने, ‘यसमा मैले प्रत्येक गणनामा मत मात्र हैन, समाज जोडिँदै गएको पाएको छु।’

विगतमा परम्परागत पार्टीमा भोट हाल्दै आएका चौधरीको चाहना यतिबेला पूरा हुने अन्तिम चरणमा छ। मधेसको व्यापारिक केन्द्र मानिने वीरगन्जको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले भारी मतान्तरका साथ आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्।

मतगणनामा सिंह एमालेका मेयरका उम्मेदवार विजयकुमार सरावगीभन्दा निकै अगाडि छन्। २ लाख ६८ हजार जनसंख्या रहेको वीरगन्जमा १ लाख २४ हजार ६ सय ४७ जना मतदाता छन्। ‘मैले जात, धर्म, भूगोलभन्दा पनि उम्मेदवारको कुरा सुनेर भोट हालें,’ चौधरीले थपे, ‘यतिबेला काठमाडौं महानगरपालिकाका मतदाताले पनि यही बाटो पछ्याएको देख्दा, सुन्दा खुसी लागेको छ ।’ काठमाडौं महानगरपालिकाको मतगणनामा साहले सुरुका दिनदेखि नै अग्रता लिएका छन्। नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई निरन्तर पछि पार्दै अघि बढेका साहले काठमाडौंको ‘कोर’ नेवार क्षेत्रबाट पनि विश्वासको मत पाएका छन्।

वीरगन्जका चौधरीजस्तै काठमाडौं महानगरका मतदाताले पनि उम्मेदवारको खुबी हेरेर मतदान गरेको सुनाउँछन्। ‘हामी महानगरका उम्मेदवार साहको विचारबाट प्रभावित बन्यौं  ,’ काठमाडौं जैसीदेवलकी निशा महर्जनले भनिन्, ‘यसले परम्परागत भोट हाल्ने ट्रेन्डमा परिवर्तन आएको छ।’

चौधरी र महर्जनले जस्तै अहिले थुप्रै सर्वसाधारण वीरगन्जमा नेवार समुदायका सिंह र काठमाडौंमा मधेसी मूलका साहले चुनाव जित्दै गरेको खबरले उत्साहित छन्। जात, धर्म र भूगोलमा समाज बाँडिँदै गएको दुष्प्रचारलाई यी दुई महानगरमा सिंह र साहको जित उन्मुखले गलत साबित गरिदिएको उनीहरूको बुझाइ छ।

कतिपयले मधेसी मूलका भने पनि साह आफूलाई नेवाः सभ्यताकै अंग भएको बताउन चाहन्छन्। चुनावी प्रचारका क्रममा उनले काठमाडौंका मन्दिरमा जाने, जात्रामा सहभागी हुने र भोजमा रमाउनै सबै नेवाः भएको भन्दै जनताको मन जिते। ‘नेवाः सभ्यता हो, यहाँ बस्ने सबै नेवाः हुन्,’ उनले भनेका थिए, ‘सिंगो संग्रहालयजस्तो यो सहर आफैंमा अलौकिक छ।’

उनको भाषण र विचारप्रति नेवार समुदाय निकै प्रभावित बन्यो। ‘उनले नेवाः को बारेमा व्यक्त गरेका विचारले पनि नेवार समुदाय अत्यन्तै प्रभावित बन्यो,’ क्षेत्रपाटीका रमेश कुलीले भने, ‘त्यसैले भित्री सहरमा बस्ने नेवार समुदायका जनताले पनि साहलाई मतदान गरेका छन्।’

जसरी साह आफूलाई नेवाः भन्न रुचाउँछन्, त्यसरी नै वीरगन्जका सिंह पनि आफू नेवार भए पनि मधेसको छोरा भएको बताउँछन्। ‘म मधेस र वीरगन्जको हितमा सदैव काम गर्नेछु,’ उनले भने, ‘यहाँ बस्ने सबै समुदायले मप्रति देखाएको सद्भाव र सहिष्णुता मेले कहिल्यै भुल्नेछैन।’ वीरगन्जका जनताको दुःखसुखमा साथ दिँदै स्थानीय समस्या समाधान गर्ने आफ्नो पहिलो लक्ष्य रहेको उनले बताए। ‘म एकैपटक धेरै ठुलो कुरा गर्दिनँ,’ उनले भने, ‘जनताले भोग्दै आएका समस्या समाधान गर्दै सहरलाई सुखी बनाउने बाटोमा अगाडि बढ्नेछु।’

जात, धर्म र भूगोलमा समाज बाडिँदै गएको दुष्प्रचार गर्नेलाई वीरगन्जको मेयरमा नेवार समुदायका सिंह र काठमाडौंमा मधेसी मूलका साहले बोलेका कुरा र उनीहरूले पाएको मतले गतिलो जवाफ दिएको डा. नम्रता पाण्डे बताउँछिन्।

सामाजिक मनोपरामर्शदाता पाण्डे नागरिकमा चेतना बढ्दै जाँदा जातीय, धार्मिक लगायत कुरा ओझेलमा पर्ने बताउँछिन्। ‘शिक्षित युवाले आवश्यक परेको समयमा परम्परा तोड्दै स्वविवेक प्रयोग गर्छन्,’ पाण्डेले भनिन्, ‘त्यसैको सानो किरण वीरगन्ज र काठमाडौंमा देखिएको छ।’

प्रकाशित: ९ जेष्ठ २०७९ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App