coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

साझा योजना बनाएर अघि बढ्छौंः मेयर कोइराला

विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले मिलेर विराटनगरवासीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। शनिबार विराटनगरमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले निर्वाचनमा जुनसुकै दलको तर्फबाट उम्मेदवार भएर निर्वाचन जिते पनि सबैको साझा उद्देश्य विराटनगर बनाउने भएकाले साझा उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्ने बताए।

उनले आफ्नो कार्यकालमा विराटनगरवासीलाई राहत हुने काम गर्ने स्पष्ट पारे। ‘आफूले धेरै महत्वाकांक्षी योजनाहरू बनाएको छैन,’ मेयर कोइरालाले भने, ‘गठबन्धनका दलहरूको तर्फबाट साझा उम्मेदवारका रुपमा उठेर निर्वाचित भएकाले गठबन्धनका दलहरूसँग छलफल गरेर  महानगरपालिकाको योजना तथा कार्यक्रमहरू अघि बढाउने छु।’

त्यस्तै, नवनिर्वाचित उपमेयर शिल्पा निराला कार्कीले विराटनगरवासीले गर्व गर्ने खालको काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। ‘विराटनगर महानगरपालिकाको उपमेयरका रुपमा इमान्दार र पारदर्शी रुपमा काम गर्ने छु,’ उपमेयर कार्कीले भनिन्, ‘आफूले निर्वाचनमा भोट माग्दा गरेका प्रतिबद्धता, जारी गरिएको घोषणापत्रको मर्म अनुसार काम गर्ने छु।’

उनले महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताइन्। कार्यक्रममा मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले मोरङमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताए।

उनले मतदाता शिक्षाको कमीका कारण धेरै मत बदर भएका कारण आगामी निर्वाचनमा मतदातालाई पर्याप्त रुपमा मतदाता शिक्षा दिन राजनीतिक दलहरूलाई आग्रह गरे। राजनीतिक दलका उम्मेदवारले भोट मात्रै मागे तर, मतदाता शिक्षा नदिएका कारण धेरै भोट बदर भएको लम्सालले बताए।

कार्यक्रममा विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगका तर्फबाट निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको थियो। विराटनगर महानगरपालिकामा हालै सम्पन्न निर्वाचनबाट मेयर, उपमेयर, वडाध्यक्षसहित ९७ जना जनप्रतिनिधि निर्वाचित भएका छन्।

प्रकाशित: ७ जेष्ठ २०७९ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App