२१ मंसिर २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

मानव निर्मित सुरुङभित्र सवा लाख शालिग्राम : धार्मिक पर्यटकको नयाँ गन्तव्य

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम संग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ। मानव निर्मित सुरुङभित्र सवा एक लाख शालिग्राम शिला एकै पटक देख्न सकिने हुँदा पर्यटक बढेका हुन्।

विशेष गरी मुस्ताङ घुम्न आएका पर्यटकहरू यहाँ आउने गरेका छन्। पछिल्लो समय औसतमा दैनिक ३०० पर्यटकले संग्रहालयको अवलोकन गर्ने गरेका छन्।

शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ। सार्वजनिक बिदाको दिन एक हजारभन्दा बढी पर्यटक आउने गरेको संग्रहालयका संरक्षक ऋषि स्वामी प्रपन्नचार्यले जानकारी दिए।

पछिल्लो चार महिनामा मात्रै २५ हजारभन्दा बढी पर्यटकले संग्रहालय अवलोकन गरेको उनले बताए। गत वर्ष झन्डै दुई लाख पर्यटक यहाँ आएको उनले बताए। संग्रहालय पाँच वर्षअघि सर्वसाधारणलाई खुला गरिएको थियो।

त्रिशूल आकारमा सुरुङभित्र रहेको संग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ। संग्रहालयमा ३०० किलो तौलसम्मका शालिग्राम छन्। ऋषि प्रपन्नचार्यले भने, ‘नेपालीसहित भारतीय पर्यटकको आकर्षण बढेको छ, सुरुमा खासै पर्यटकको आगमन हुन सकेको थिएन, तर पछिल्लो समय आगन्तुकको संख्या बढ्दै गएको छ, अहिले सार्वजनिक बिदामा एक हजारभन्दा बढी पर्यटक यहाँ आउँछन्, अरु बेला पनि दुई÷तीन सय आइरहेका छन्।’

पश्चिम नवलपरासीबाट घुम्न आएकी एलिना खनालले संग्रहालय धार्मिक महत्वको भएको बताइन्। उनी मुक्तिनाथ पुगेर फर्कने क्रममा यहाँ आएकी थिइन्। ‘यति ठूलो संग्रहालयबारे मलाई थाहा थिएन, यहाँ आएर यति धेरै शालिग्राम अवलोकन गर्न पाउँदा निकै खुसी लाग्यो’, खनालले भनिन्, ‘कालीगण्डकीमा अहिले शालिग्राम पाइन छोडे, तर यहाँ संग्रहित गरेर राखेको देख्दा अचम्म लाग्यो, यसको संरक्षण गर्न जरुरी छ।’

शालिग्राम संग्रहालय अवलोकनका लागि चितवनबाट आएका टीकाराम पाठकले पारिवारिक भ्रमणका लागि यहाँ आएको बताए। संग्रहालयमा राखिएका कालीगण्डकी नदीको उद्गमस्थल दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको नक्सासहितको आकृतिले आकर्षित गरेको उनले बताए। शालिग्राम संग्रहालय क्षेत्रमा श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरलगायतका थुप्रै धार्मिक संरचना निर्माण भएका छन्। रासस

प्रकाशित: १७ मंसिर २०८२ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App