३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
अपराध

बाबुबाट बलात्कृत बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

सांकेतिक तस्बिर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी दैलेखकी एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । बलात्कारको आरोपमा उनका बाबुलाई नियन्त्रणमा लिइएको छ ।  

बालिका एक बर्षदेखि बाबुबाट बलात्कृत भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी निरीक्षक राजकुमार थापाको टोलीले किशोरीको उद्धार र बाबुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती बालिका आफ्नै बाबुबाट बलात्कृत भएको खुलेपछि ४९ बर्षीय बाबुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपी किशोरीका बाबुविरुद्ध हाडनातामा जबरजस्ती करणीको मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिए ।  

पक्राउ परेका बाबुले छोरीलाई २०८२ साउनदेखि बलात्कार गरिरहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

पीडित बालिकाकी आमाले दिएको बयान अनुसार छोरीमाथि बलात्कार भइरहेको जानकारी पाए पनि श्रीमानले मार्ने धम्की दिएपछि घटनाबारे भन्न नसकेको बताइएको छ । आर्थिक विपन्नताका कारण आमाले दैनिक कमाउन जानु पर्ने र घरमा बाबुले दैनिक जाँड रक्सी खाएर आफू र छोराछोरीलाई कुटपिट गर्दै आएको आमाको बयान छ । बालिकालाई दैलेखस्थित एक सामाजिक संस्थाको संरक्षणमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बाबुको बलात्कारको शिकार बनेकी उनले बाबुको डरले घटनाबारे कतै भन्ने नसकेको बताएकी छिन् । गत साउन महिनादेखि नै छोरी बलात्कारमा परेको बालिकाकी आमाको बयान छ । ‘म महिनावारी भएको बेला छाउगोठमा सुतेको थिएँ । छोरीहरु बाबुसँग सुतेका थिए त्यहीबाट बाबुको कुकृत्य शुरु भएछ’ आमाको बयान छ । १२ वर्षीया छोरीमाथि आफ्नै बाबुले त्यस्तो गर्लान भन्ने कल्पना पनि नगरेको उनले बताइन् ।

प्रकाशित: १८ वैशाख २०८३ १९:३१ शुक्रबार