८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

‘प्रशिक्षक हुमागाईंको अभिव्यक्ति गैरव्यावसायिक’

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार बंगलादेशसँगको मैत्रीपूर्ण खेलपश्चात् नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले मञ्चलाई जोडेर दिएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेलपछि आयोजित ‘पोस्ट म्याच कन्फ्रेन्स’ का क्रममा प्रशिक्षक हुमागाईंले पत्रकारमाथि आक्रोश पोखेपछि मञ्चलाई आर्थिक सहयोग गर्ने भन्दै गरेको गैरव्यावसायिक टिप्पणीप्रति मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। मञ्चले बुधबार विज्ञप्ति जारी गर्दै त्यस प्रकारको व्यक्तिगत सहयोग कहिल्यै स्वीकार नगरेको र भविष्यमा पनि नगर्ने भन्दै प्रशिक्षक हुमागाईंको व्यवहारप्रति भर्त्सना समेत गरेको छ।

उनको त्यो अभिव्यक्ति अत्यन्तै गैरव्यावसायिक, गैरजिम्मेवार, निम्न सोचबाट आएको र पदीय मर्यादाविपरीत रहेको मञ्चले जनाएको छ। खेलबारे विश्लेषण र पत्रकारको प्रश्नका जबाफ दिनुको साटो प्रशिक्षक हुमागाईंले उल्टै नेपालका खेलपत्रकारमाथि निराधार आरोप लगाउँदै उनीहरूमाथि गलत धारणा पनि प्रस्तुत गरेको मञ्चले निष्कर्ष निकालेको छ। उनको व्यवहार खेलभावनाविपरीत रहेको र उनमा पत्रकार सम्मेलनका क्रममा कसरी प्रस्तुत हुनुपर्छ भन्ने सामान्य ज्ञानको पनि अभाव देखिएको मञ्चले जनाएको छ।

साथै मञ्चले प्रशिक्षक हुमागाईंको निन्दनीय प्रस्तुतिबारे अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानाकर्षण गराएको र उनलाई आवश्यक कारबाही गर्न पनि माग गरेको छ। प्रशिक्षक हुमागाईंको यस प्रकारको व्यवहारका कारण एन्फासँग रह“दै आएको सम्बन्ध पनि प्रभावित हुने मञ्चले चेतावनी दिएको छ।  

प्रकाशित: १३ आश्विन २०७९ ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App