८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

पूर्व क्लबसँग भिड्दै हालान्ड र लेवान्डोवस्की

च्याम्पियन्स लिग ड्र सार्वजनिक

बायर्न म्युनिखले आफ्ना पूर्वस्टार रोबर्ट लेवान्डोवस्कीको क्लब बार्सिलोनासँग युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा नै प्रतिस्पर्धा गर्ने भएको छ।

बिहीबार इस्तानबुलमा भएको ‘ड्र’ अनुसार जर्मन जायन्ट बायर्न र स्पेनिस क्लब बार्सिलोना एकै समूहमा परेका हुन्। यता म्यानचेस्टर सिटीका नर्वेली स्ट्राइकर इर्लिङ हालान्डले पनि आफ्नो पूर्वक्लब बोरुसिया डर्टमन्डलाई समूह चरणमा नै भेट्ने भएका छन्।

हालान्ड र लेवान्डोवस्की यस सिजन मात्र क्रमशः प्रिमियर लिग र ला लिगाबाट आएका हुन्। बायर्न र बार्सिलोनाले समूह ‘सी’ मा इन्टर मिलान र चेक रिपब्लिक च्याम्पियन भिक्टोरिया प्लेजनसँग खेल्नेछ। बार्सिलोनाले सन् २०२० मा लिस्बनमा सम्पन्न क्वार्टरफाइनलमा बायर्नसँग ८-२ को लज्जापूर्ण हार बेहोर्न बाध्य भएको थियो।

स्पेनिस क्लब गत सिजन पनि दुई पटक जर्मन क्लबसँग स्तब्ध भएपछि समूह चरणबाटै बाहिरिएको थियो। आठ वर्ष बायर्नमा बिताएका लेवान्डोवस्कीले तीन ४४ गोल गरेका थिए र उनी यस सिजन ५० मिलियन युरोमा बार्सिलोना आएका हुन्। यता हालान्ड पनि यसै सिजन प्रिमियर लिग च्याम्पियन सिटीमा आएका थिए। जहाँ उनको क्लब सिटीले समूह ‘जी’ मा डर्टमन्डका साथै डेनिस क्लब कोपनहेगन र सेभियासँग खेल्नेछ। सिटी र डर्टमन्ड सन् २०२१ को च्याम्पियन लिगको क्वार्टरफाइनलमा भिडेका थिए, जहाँ पेप ग्वार्डिओलाको सिटीले ४-२ को बाजी मारेको थियो। सिटीले सन् २०१५/०१६ मा समूह रणमा नै दुई पटक सेभियालाई स्तब्ध बनाएको छ।

गत सिजनको फाइनलिस्ट लिभरपुललको समूह ‘ए’ मा अयाक्स, नेपोली र रेन्जर्स छन्। डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडले भने समूह ‘एफ’ मा सेल्टिक, आरबी लेपजिग र सख्तर डोनस्कविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ। लगातार तेस्रो सिजन रियाल र सख्तर एकै समूहमा परेका हुन्। देशमा युद्ध जारी रहेकाले सख्तरले आफ्नो ‘होम’ खेल पोल्यान्डको राजधानी वार्सामा खेल्नेछ। योर्गान क्लोपको टोली लिभरपुलले दुई वर्षअघि पनि समूहचरणमा नै अयाक्सको सामना गरेको थियो। नेपोली र लिभरपुलबीच पछिल्लो भेट भने सन् २०१९ मा भएको थियो। रेन्जर्स भने १२ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिग खेल्न लागेको हो।

सन् २०१०/११ को च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदान ओल्ड ट्राफोर्डमा गोलरहित बराबरीमा रोकेको रेन्जर्स सन् २०१२ मा भने स्कटिस लिगको चौथो डिभिजनमा खुम्चिन पुग्यो। चरम आर्थिक संकट सामना गरेपछि रेन्जर्सले त्यो अवस्था बेहोर्नुपरेको हो। कतारी मालिकको स्वामित्वमा आएपछि च्याम्पियन्स लिग जित्न ठूलो संघर्ष गरिरहेको पेरिस सेन्ट जर्मेन समूह ‘ए’ मा छ। यो समूहमा युभेन्ट्स, बेनफिका र इजरायलको च्याम्पियन माकाबी हाइफा छन्।

सन् २०२१ को च्याम्पियन्स लिग विजेता चेल्सीले भने समूह ‘ई’ मा सिरी ‘ए’ च्याम्पियन एसी मिलानका साथै रेडबुल साल्जबर्ग र डाइनामो जाग्रेबसँग खेल्नेछ। समूह ‘डी’ मा टोटनह्याम हट्सपरले गत वर्ष युरोपा लिग च्याम्पियन इट्य्राक्ट फ्रान्कफर्टको सामना गर्नेछ।

यो समूहमा स्पोर्टिङ लिस्बन र मार्सेली छन्। पोर्चुगलको पोर्टो र एटलेटिको मड्रिड लगातार दोस्रो सिजन समूह ‘बी’ परेका छन्। जहाँ यी दुईले बायर लेभरकुसेन र बेल्जियन च्याम्पियन क्लब ब्रुगेसँग खेल्नेछन्। यस सिजनको च्याम्पियन्स लिगका पहिलो चरणका खेलहरू सेप्टेम्बर ६ र ७ देखि सुरु हुनेछन्। 

प्रकाशित: ११ भाद्र २०७९ ००:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App