प्रि-सिजनमा उल्लेख्य प्रदर्शन गर्न नसकेको चेल्सीले जर्जिन्होको पेनाल्टी गोलमा एभर्टनमाथि १–० को जितसहित इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ।
एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा लगातार चार खेलमा नतिजा सुम्पिएको चेल्सीले सो मैदानमा पाँच वर्षपछि पहिलो जित निकाल्यो।
अमेरिका भ्रमणमा प्रिमियर लिगकै अर्को प्रतिद्वन्द्वी आर्सनललाई ४-० को नतिजा सुम्पिएपछि चेल्सीका प्रशिक्षक थोमस टुचेलले आफ्नो टोली नयाँ सिजनका लागि पूर्ण रूपमा तयार नभएको प्रतिक्रिया दिएका थिए। जसले गर्दा चेल्सीले नयाँ सिजनमा कस्तो प्रदर्शन गर्छ भन्नेमा चासो बढेको थियो।
रहिम स्टर्लिङ र कलिडोउ कुलिबेलीलाई अनुबन्धित गरिसकेको चेल्सीले केही दिनअघि मात्र मार्क कुकुरेल्ला र क्रेने चुक्वेमेकालाई भिœयाएको थियो। एभर्टनविरुद्ध टुचेलले स्टर्लिङ, कुलिबेली र कुकुरेल्लालाई भने मैदान उतारेका थिए।
‘गत सिजन हामीले एभर्टनविरुद्ध अंक जोड्न सकेका थिएनौं, तर यस पटक भने हामीले स्पष्ट ३ अंंक लिन सफल भयौं,’ टुचेलले भने, ‘जित भनेको जित हो, यो हाम्रा लागि महत्त्वपूर्ण अंक हो। हामीले अझै सुधारिएको खेल प्रदर्शन गर्न आवश्यक छ। हामी अझै राम्रो प्रदर्शन गर्न सक्छौं र हामी त्यहाँ पुग्नै बाँकी छ। हामीले नयाँ खेलाडी ल्याएका छौं तर उनीहरू प्रि-सिजनको अन्त्यमा मात्र स्टामफोर्ड ब्रिज भित्रिएका थिए। त्यसैले क्लबसँग अभ्यस्त हुन उनीहरूलाई केही समय लाग्न सक्छ।’
यता स्ट्राइकर डोमिनिक काल्भर्ड लेविन अभ्यासका क्रममा घाइते भएसँगै ६ साता मैदानबाहिर रहने भएकाले एभर्टन समस्यामा परेको थियो। पहिलो हाफमा काई हाभाट्र्जसँग जुध्दा बेन गडफ्रे र दोस्रो हाफमा यारी मिना पनि मैदानबाट बाहिरिनु एभर्टनका लागि थप पीडादायी बन्यो।
‘हामी काल्भर्ट लेविनको चोटबाट निराश थियौं,’ एभर्टनका प्रशिक्षक फ्रांक लाम्पार्डले भने, ‘तर बेन गडफ्रे र यारी मिनाको चोटले हाम्रो समस्या थप बढाइदिएको छ।’
गत सिजन मुस्किलले रेलिगेसनको संकट टारेको एभर्टनले नयाँ सिजनमा पनि सुखद सुरुआत भने गर्न सकेन। एभर्टनको खेलमा फर्कने प्रयासमा चेल्सीका गोलकिपर इडोवार्ड मेन्डी बाधक बनेका थिए। मेन्डीले जेम्स तार्कोवस्कीको हेडर विफल पारेका थिए।
त्यस्तै चेल्सीबाट डेब्यु खेलमा स्टर्लिङले गोल गर्दै सुखद संकेत गरेका थिए तर अफसाइड भएको भन्दै उनको गोलले मान्यता भने पाएन। उनी म्यानचेस्टर सिटीबाट यसै सिजन स्टामफोर्ड ब्रिजमा भित्रिएका थिए।
प्रकाशित: २३ श्रावण २०७९ ०१:०४ सोमबार