९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

श्रीलंकाको फराकिलो अग्रता

दिनेश चण्डीमलले लगातार दोस्रो इनिङमा पनि अर्धशतक पूरा गरेसँगै श्रीलंकाले सोमबार पाकिस्तानविरुद्धको पहिलो टेस्टमा ३ सय ३३ रनको अग्रता लिएको छ।

खराब प्रकाशका कारण निर्धारित समयभन्दा अघि नै खेल रोकिएको थियो। तेस्रो दिनको खेल समाप्तिमा श्रीलंका ३२९–९ मा खेलिरहेको छ। चण्डीमल अविजित ८६ र प्रभात जयसूर्या अविजित ४ रनमा खेलिरहेका छन्। चण्डीमलले १ सय २१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। उनले पहिलो इनिङमा पनि ७६ रन जोडेका थिए। श्रीलंकाले पहिलो इनिङमा २ सय २२ रन जोडेको थियो। पाकिस्तानको पहिलो इनिङ भने २ सय १८ रनमा सीमित भएको थियो। श्रीलंकाले पहिलो इनिङमा ४ रनको अग्रता लिएको थियो। चण्डीमलको दोहोरो शतकमा श्रीलंकाले गत साता अस्ट्रेलियाविरुद्धको २ टेस्ट शृंखला १–१ को बराबरीमा टुङ्ग्याएको थियो। उनले सो टेस्टको पहिलो इनिङमा २ सय ६ रन जोडेका थिए।  

३६–१ बाट तेस्रो दिनको खेल सुरु गरेको श्रीलंकाले थप ५ रन जोड्दा मेन्डिस राजिथालाई गुमायो। तेस्रो विकेटका लागि ओसाडा फर्नान्डोले कुशल मेन्डिससँग ९१ रनको साझेदारीसहित श्रीलंकाको इनिङ उकासेका थिए। फर्नान्डोले यासिर शाहको बलमा बाबर आजमबाट क्याच हुनुअघि १ सय २५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। उनको यो छैटौं टेस्ट अर्धशतक हो। त्यसपछि ब्याटिङका लागि आएका एन्जेलो म्याथ्युजले मात्र ९ रन जोडे। मेन्डिसले यासिर शाहबाट बोल्ड हुनुअघि १ सय २६ बलमा ९ चौकाको मद्दतमा ७६ रन जोडे। उनको यो पाँचौं टेस्ट अर्धशतक हो। त्यस्तै धनञ्जय डी सिल्भाले २०, रमेश मेन्डिसले २२, निरोसान डिकवेलाले १२ र माहिस थिकसानाले ११ रन जोडे। चण्डीमल र थिकसानाले नवौं विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए।

पाकिस्तानका मोहम्मद नवाजले ५ तथा यासिर शाहले ३ विकेट लिए। त्यस्तै हसन अलीले १ विकेट लिए। पहिलो इनिङमा ४ विकेट लिएका साहिन शाह अफ्रिदीले दोस्रो इनिङमा भने कुनै विकेट लिन सकेनन्।

प्रकाशित: ३ श्रावण २०७९ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App