एसी मिलानलाई २–१ को नतिजा सुम्पिएपछि इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा अग्रता बढाउने इन्टर मिलानको लक्ष्यले पूर्णता पाएन। शनिबार सम्पन्न खेलमा एसी मिलानले शीर्ष टोली इन्टरमाथिको जितपछि सिरी ‘ए’ को उपाधि होड खुला पारेको छ। एसी मिलानले शीर्ष स्थानको इन्टरसँगको दूरी १ अंकमा झारेको हो।
३८औं मिनेटमा इभान पेरिसिचको गोलमा इन्टरले अग्रता लिएको थियो। ७५औं मिनेटमा ओलिभर जिरौडले गोल गर्दै एसी मिलानलाई खेलमा फर्काएका थिए। त्यसको तीन मिनेटपछि नै जिरौडले व्यक्तिगत दोस्रो गोल गर्दै एसी मिलानलाई अग्रता दिलाएका थिए। ‘हामीले पहिलो हाफमा केही कठिनाइ भोग्नुपर्यो।
दोस्रो हाफमा भने हामीले इन्टलाई दबाबमा राख्यौ। हामीले पाएको अवसरलाई खेर जान दिएनौं,’ जिरौडले भने, ‘टोलीको जितमा योगदान गर्न पाउँदा म खुसी छु। हामीले १–० ले पछि परे पनि स्वाभाविक खेल खेल्न छाडेनौं।’
ज्लाटान इब्राहिमोभिच चोटका कारण टोलीबाट बाहिरिएपछि मात्र जिरौडले शनिबार इन्टरविरुद्ध अवसर पाएका थिए। जसलाई उनले प्रमाणित पनि गरेका छन्।
इन्टरमाथिको जितपछि एसी मिलानले तेस्रो खेलमा आएर आफूलाई पुनः उपाधि दाबेदारका रूपमा उभ्याएको छ। यसअघिका पछिल्ला २ खेलमा एसी मिलानले मात्र १ अंक जोडेको थियो। २३ खेलमा शीर्ष स्थानको इन्टरको ५३ अंक छ भने एक खेल बढी खेलेको दोस्रो स्थानको एसी मिलानको ५२ अंक छ। इन्टरले आइतबार भनेजियाको सामना गर्दै छ। सो खेलपछि भने इन्टरले आफ्नो अग्रता पुनः ४ अंकमा पुर्याउन सक्छ।
त्यस्तै इन्टरले अर्को साता सिरी ‘ए’ मा नेपोलीको सामना गर्नेछ भने च्याम्पियन्स लिग अन्तिम १६ भिडन्तका लागि लिभरपुलको भ्रमण गर्नेछ। इन्टरले सन् २०२० को अक्टोवरपछि घरेलु मैदानमा व्यहोरेको यो पहिलो हार हो।
‘हामीले खेलको ७० मिनेटसम्म एसी मिलानलाई दबाबमा राख्यौं, तर त्यसपछि भने हामीले लय गुमायौं,’ इन्टरका प्रशिक्षक लोरेन्जो इन्जाघीले भने, ‘सम्हालिन नसक्दा हामीले स्पष्ट तीन अंक जोड्दै शीर्ष स्थानको अग्रता फराकिलो पार्ने अवसर गुमायौं।’
सिरी ‘ए’ अन्तर्गत शनिबार सम्पन्न अर्को खेलमा लाजियोले फियोरेन्टिनालाई ३–० ले हराउँदा एएस रोमाले भने जिनोवासँग गोलरहित बराबरीमा चित्त बुझाएको छ।
प्रकाशित: २४ माघ २०७८ ०३:४३ सोमबार