आन्द्रे रसेलले अन्तिम ओभरमा कसिलो बलिङ गरेसँगै वेस्ट इन्डिजले बंगलादेशलाई ३ रनले हराउँदै आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ।
शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३९ रन मात्र जोड्न सक्यो।
जितका लागि बंगलादेशलाई अन्तिम ओभरमा १३ रन आवश्यक थियो। रसेलको पहिलो बलमा अफिफ हौसेनले २ रन लिए। दोस्रो बलमा बंगलादेशले १ रन बाई पायो। रसेलको तेस्रो, चौथो र पाँचौं बलमा बंगलादेशका कप्तान महमदुल्लाले लगातार २/२ रन बनाए।
जितका लागि अन्तिम बलमा बंगलादेशलाई ४ रन आवश्यक रहँदा रसेलले डट बल गरेपछि वेस्ट इन्डिजले महत्त्वपूर्ण २ अंकका साथ अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राखेको हो। ग्रुप वानमा ३ खेलको समाप्तिमा २ अंक जोडेको वेस्ट इन्डिज पाँचौं स्थानमा छ।
अंकविहीन बंगलादेश छैटौं स्थानमा छ। ग्रुप वानमा इङ्ल्यान्ड र अस्ट्रलेलिया समान ४ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् भने समान २ अंक जोडेका दक्षिण अफ्रिका र श्रीलंका क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
दुवै समूहका शीर्ष दुुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा इङ्ल्यान्ड र दोस्रो खेलमा दक्षिण अफ्रिकालाई नतिजा सुम्पिएको थियो।
बंगलादेशको भने प्रतियोगितामा यो लगातार तेस्रो हार हो। बंगलादेश पहिलो खेलमा श्रीलंकासँग ५ विकेट र दोस्रो खेलमा इङ्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। बंगलादेशका लिट्टन दासले सर्वाधिक ४४ र मोहमदुल्लाले अविजित ३१ रनको योगदान गरे।
यसअघि टस हारेर ब्याटिङका लागि आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रनको योगफल खडा गरेको थियो। वेस्ट इन्डिजका निकोलास पुरनले सर्वाधिक ४० र रोस्टन चेसले ३९ रनको योगदान गरे।
१२ रन जोड्दा ओपनर इविन लुइसलाई गुमाएको वेस्ट इन्डिजले थप ६ रन जोड्दा अर्का ओपनर क्रिस गेललाई गुमायो। ३२ रन जोड्दा वेस्ट इन्डिजले सिमरोन हेटमायरलाई तेस्रो विकेटका रूपमा गुमायो।
६२–४ को स्थितिमा ब्याटिङका लागि आएका पुरन र चेसले पाँचांै विकेटका लागि ५७ रनको साझेदारी गर्र्दै वेस्ट इन्डिजको इनिङ उकासेका थिए। पुरनले २२ बलमा १ चौका र ४ छक्का प्रहार गर्दा चेसले ४६ बलमा २ चौका प्रहार गरे। बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र सोरिफुल इस्लामले समान २ विकेट लिए।
प्रकाशित: १३ कार्तिक २०७८ ०३:२१ शनिबार