साहिन साह अफ्रिदीको १० विकेट प्रेरणाबाट पाकिस्तानले दोस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिजमाथि १ सय ९ रनको जित निकाल्दै शृंखला १–१ को बराबरी गर्न सफल भएको छ।
किङ्सटनस्थित सबिना पार्कमा तीव्र गतिका बलर अफ्रिदी चम्केपछि पाकिस्तान निर्णायक टेस्टमा जित निकाल्दै दुई खेलको शृंखला बराबरीमा गर्न सफल भएको हो। अफ्रिदीले पहिलो इनिङमा ६–५१ को प्रदर्शन गर्दै पाकिस्तानको आशा जगाए। अन्तिम पटक पनि उनको बलिङ चलेपछि पाकिस्तान घरेलु टोलीमाथि जित रच्न सफल भयो।नयाँ बल लिएपछि उनले दुई विकेट लिँदै दिन समाप्तिको एक घन्टाअगाडि नै पाकिस्तानको जित पक्का गराए। ३ सय २९ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४९–१ को स्थितिबाट अन्तिम दिनको सुरुआत गरेको थियो।
शीर्ष क्रमका ब्याट्सम्यानले ब्याटिङमा संघर्ष गर्दा मध्यदिनमा नै वेस्ट इन्डिज ११३–६ विकेटको नाजुक स्थितिमा थियो, जहाँ कप्तान क्रेग ब्राथवेटले ३९ रनको योगदान गरे। त्यसपछि पूर्वकप्तान जेसन होल्डरले इनिङ समाल्ने प्रयास गरे। तथापि, उनी पनि ४७ रनमा नै पवेलियन फर्किए। होल्डर आठौं विकेटका रूपमा बाहिरिएपछि पाकिस्तानी टोलीमा जितको उत्साह जागेको थियो। त्यसअघि होल्डरलाई राम्रो साथ दिएका केयल मायर्स ३२ रनमा पवेलियन फर्किसकेका थिए। अफ्रिदीले अन्तिमका दुई विकेट पनि लिँदै पाहुना टोलीको इनिङलाई छिट्टै समाप्त पारे।
त्यस क्रममा अफ्रिदीले केमार रोचलाई एलबिडब्लु र जोसुआ डा सिल्भालाई फहिम असरफबाट क्याच आउट गराए। त्यससँगै क्यारेबियन इनिङ २ सय १९ रनमै समेटियो। बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानले क्यारेबियन भूमिमा सन् २००५ र २०११ पछि पहिलो टेस्ट गुमाए पनि पुनरागमन गर्दै आयोजकसँग उपाधि बाँड्न सफल भयो। ‘पहिलो टेस्ट गुमाएकाले यो जित हाम्रा लागि निकै महत्त्वपूर्ण रह्यो,’ बाबरले भने।९ दिनअगाडि यसै मैदानमा पाकिस्तान एक विकेटले स्तब्धपूर्ण हार बेहोर्न बाध्य भएको थियो। पहिलो इनिङमा फवादले १ सय २४ रनको शतकीय इनिङ खेलेका थिए।
बाबरले पनि ७५ रनको योगदान गर्दा पाकिस्तानले पहिलो इनिङमा ३ सय २ रन बनाएको थियो। ‘मेरो इनिङ र फवाद आलमको शतकले खेलको कोर्सलाई बदल्यो। तथापि, जितमा अफ्रिदीको बलिङ नै मुख्य हकदार रह्यो,’ बाबरले भने। दोस्रो इनिङमा अफ्रिदीले ४–४३ को प्रदर्शन गर्दै दोस्रो टेस्टमा १० विकेट पूरा गरे। यससँगै दुई खेलको शृंखलामा उनले १८ विकेट निकाले। सोही प्रदर्शनका आधारमा पनि उनी म्यान अफ दी म्याच र म्यान अफ दी सिरिज पनि घोषित भए। वेस्ट इन्डिजका कप्तान ब्राथवेटले लयलाई निरन्तरता दिन नसक्दा दोस्रो टेस्टमा हार बेहोर्नुपरेको बताए।
प्रकाशित: १० भाद्र २०७८ ०१:३२ बिहीबार