८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

रोमामा ट्यामी अब्राहम

प्रिमियर लिग क्लब चेल्सीका स्ट्राइकर ट्यामी अब्राहमलाई इटालियन क्लब रोमाले अनुबन्धित गरेको छ। रोमाले मंगलबार स्ट्राइकर अब्राहमलाई ४० मिलियन पाउन्डमा अनुबन्धित गरेको क्लबले जनाएको छ। २३ वर्षीय स्ट्राइकर अब्राहमले रोमासँग ५ वर्षको सम्झौता गरेका हुन्। चेल्सीका लागि गत सिजनमा ३० गोल गरेका अब्राहम रोमाबाट खेल्दा ९ नम्बर जर्सीका साथ मैदान उत्रिने छन्।  

‘क्लबले चाहेको अवस्थामा अनुबन्धित हुन सहज हुन्छ। रोमाले अनुबन्धनका लागि चासो देखायो र अन्ततः सफल पनि भयो,’ रोमामा अनुबन्धित अब्राहमले भने, ‘रोमा उपाधिका लागि सधैं दाबेदार टोली हो। मैले चेल्सीमा रहँदा केही उपाधि उचालेको अनुभव लिएको छु। रोमामा अनुबन्धित हुँदा पनि म उपाधिका लािग खेल्नेछु।’

प्रिमियर लिग क्लब चेल्सीको एकेडेमीमा हुर्किएका अब्राहमले २०१६ मा सिनियर टोलीमा स्थान पाएका थिए। उनले चेल्सीका लागि कुल ८२ खेलबाट ३० गोल गरेका छन्। गत सिजनमा अब्राहमले चेल्सीका लागि २२ खेलमा ६ गोल गरेका थिए ।

यस्तै इन्टर मिलानले रोमेलु लुकाकुको स्थानमा म्यानचेस्टर सिटीका पूर्वफरवार्ड तथा रोमाका इडिन डेज्कोलाई अनुबन्धित गरिसकेको थियो। रोमामा अनुबन्धित अब्राहमलाई जुन कुनै समयमा पनि स्टाम्फोर्डब्रिजमा स्वागत हुने चेल्सीका निर्देशक मारिना ग्रानोभास्कियाले बताए। चेल्सीबाट उनले च्याम्पियन्स लिग र युइएफए सुपर कपको उपाधि जितेका थिए ।

प्रकाशित: २ भाद्र २०७८ ०२:३९ बुधबार

प्रिमियर लिग क्लब चेल्सीका स्ट्राइकर ट्यामी अब्राहम