इङ्ल्यान्डले आगामी अक्टोबरमा दुई ट्वान्टी–२० खेलका लागि पाकिस्तान भ्रमण गर्ने निश्चित भएको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले शुक्रबार जनाएको छ। सन् २००५ देखि पाकिस्तान भ्रमण नगरेको इङ्ल्यान्डले पहिलोपटक भ्रमण गर्दा पुरुष र महिला टोली सहभागी हुने पिसिबीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
पुरुष टोलीले दुई तथा महिला टोलीले तीन ट्वान्टी–२० खेल खेल्ने तालिका छ। ‘इङ्ल्यान्ड पुरुष टोलीले अक्टोबरमा दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलका लागि भ्रमण गर्ने निश्चित भएको छ,’पिसिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ, ‘दुवै खेल रावलपिंडीस्थित पिंडी क्रिकेट रंगशालामा १३ र १४ अक्टोबरमा हुनेछ।’ अक्टोबरमा भ्रमण गर्न लागेको इङ्ल्यान्डले यस अघि २००५ मा मात्र पाकिस्तान भ्रमण गरेको थियो।
महिला टोलीले अक्टोबर १७, १९ र २१ मा खेल्ने तालिका रहेको छ। यस्तै न्युजिल्यान्ड टोलीले पनि सेप्टेम्बरमा भ्रमण गर्ने तालिका छ। न्युजिल्यान्डले पनि १८ वर्षपछि पाकिस्तान भ्रमण गर्न लागेको हो। पाकिस्तान विदेशी टोलीलाई भ्रमण गराएर स्वदेशमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउन चाहन्छ। सन् २००९ मा श्रीलंकन टोलीमाथि पाकिस्तान भ्रमण गर्दा बसमा बम हमला भएको थियो। लाहोरमा भएको उक्त घटनापछि लामो समयसम्म देशहरूले पाकिस्तान भ्रमण गरेनन्।
यस्तै वेस्ट इन्डिज र अस्ट्रेलिया पनि सात महिनाभित्र पाकिस्तानी भूमिमा गएर खेल्ने तालिका रहेको छ। सन् २००९ पछि पाकिस्तानमा कुनै पनि खेलाडी र देशले भ्रमण नगर्ने जनाएका थिए। तर पछिल्ला समय सुरक्षा क्षेत्रमा देखिएको सुधारका कारण केही अन्तर्राष्ट्रिय खेलहरू सम्पन्न भइसकेका छन्। पछिल्ला ६ वर्षयता जिम्बाब्वे, श्रीलंका, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले भ्रमण गरिसकेका छन्।
प्रकाशित: ३० श्रावण २०७८ ०३:२० शनिबार