एन्टोनी ग्रिजम्यानले पछि परेको अवस्थामा बराबरी गोल फर्काएपछि शनिबार युरो कपमा विश्वविजेता फ्रान्स हंगेरीसँगको हारबाट जोगिएको छ भने हंगेरीले अंक खोसेर समूहतालिकामा खाता खोलेको छ।
हंगेरीको पुस्कास एरिनामा घरेलु टोलीले अग्रता लिएको थियो। दोस्रो हाफमा सोही अग्रतालाई कायम राख्न नसक्दा विश्वविजेता फ्रान्ससँग अंक गुमाउन पुगेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दर्शकले भरिभराउ रंगशालाको माहोलले घरेलु खेलाडीलाई ऊर्जा मिलेको थियो। पहिलो हाफअन्तर्गत इन्जुरी समयको दोस्रो मिनेटमा एटिला फिओलाले आकर्षक गोल गर्दै घरेलु टोली हंगेरीलाई अगाडि बढाएका थिए।
बलियो टोली फ्रान्सविरुद्ध सुरुआती अग्रता निकाल्ने क्रममा गोल गरेका फिओलाले पछिल्ला चार खेलमा दुई गोल गरेका छन्। यसअघि ३३औं मिनेटमा मौका पाए पनि उनी सदुपयोग गर्न चुकेका थिए।
हंगेरीले १९६४ पछि पहिलो पटक पहिलो हाफमा गोल गरेर अग्रता लिएको थियो। तर हंगेरीको अग्रता धेरै समय टिकेन। दोस्रो हाफमा फ्रान्सले गोल गर्दै खेलमा फर्किने संकेत देखायो। ६६औं मिनेटमा किलियन एम्बाप्पेले दिएको क्रस पास हंगेरीका रक्षकलाई लागेर फर्कियो। सो बलमा ग्रिजम्यान सफल हुँदा खेल बराबरीको अवस्थामा पुगेको थियो। यससँगै ग्रिजम्यानले फ्रान्सका लागि युरो कपमा सातौं गोल पूरा गरेका छन्। ११ गोल गरेका पोर्चुगलका रोनाल्डो सबैभन्दा अगाडि छन्।
सुरुआतबाट नै दबाब दिएर बलमा पकड जमाएको फ्रान्सका लागि अग्रपंक्तिको लाइन खासै चल्न सकेन। खेलदौरान फ्रान्सका करिम बेन्जिमा र किलियन एम्बाप्पेले पाएका मौकालाई गोलमा परिणत गर्न सकेनन्।
६० हजारभन्दा धेरै समर्थकसामु घरेलु टोलीसँग प्रतिस्पर्धा गरेको फ्रान्सलाई बराबरीले अघिल्लो चरण पुग्नका लागि अन्तिम खेल नै कुर्नुपर्ने भएको छ। यस्तै बलियो टोलीलाई रोकेको हंगेरीले समूहतालिकामा एक अंकको खाता खोलेको छ।
पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित पोर्चुगलसँग ३–० ले पराजित भएको हंगेरीको समूहचरण पार गर्ने सम्भावना अझै कायमै छ। यद्यपि, पछिल्ला तीन खेलमा १ गोल मात्र गर्न सकेको हंगेरीलाई खराब लय परिवर्तन गर्नु आवश्यक थियो। लिएको अग्रता जोगाउन नसक्दा टोली अंक बाँड्न बाध्य बन्यो। समूह ‘एफ’ मा रहेको टोली हंगेरीले आगामी खेल जर्मनीसँग खेल्नेछ भने फ्रान्सले पोर्चुगलको सामना गर्नेछ। ग्रुप अफ डेथ मानिएको यो समूहमा फ्रान्सको हंगेरीसँग जित निकालेर एक खेलअगावै अघिल्लो चरण प्रवेश गर्ने लक्ष्यमा ठेस लागेको छ।
प्रकाशित: ६ असार २०७८ ०१:४० आइतबार