युरोपियन सुपर लिगमा नजाने निर्णय भएपछिको पहिलो खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि पुनरागमन जित निकाल्दै प्रिमियर लिगको उपाधि नजिक पुगेको छ। एस्टन भिल्लाको मैदानमा भएको खेलमा सिटीले १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै बुधबार २–१ को जितका साथ उपाधिनजिक पुगेको हो।
३३ खेलबाट ७७ अंक जोडेर शीर्षता कायम राखेको सिटी बाँकी पाँच खेलमा ८ अंक जोड्दा उपाधि उचाल्ने समीकरण पूरा हुनेछ। पेप ग्वार्डिओलको टोली सिटी १० खेलाडीमा सीमित भए पनि सुखद नतिजा निकालेको हो। जोन स्टोन्स ४४औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान बाहिरिए पनि टोलीले सम्हालिएको प्रदर्शन गर्दै एस्टन भिल्लाको मैदानमा स्पष्ट अंक खोस्न सफल भएको हो। यसअघि सिटीले पुनरागमन गर्दै अग्रता लिएको थियो। अग्रतालाई जोगाउँदा सिटी उपाधिनजिक बन्दै गएको छ।
एस्टन भिल्लाका जोन म्याकगिनले पहिलो मिनेटमा नै गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। दबाबका बीच पनि सम्हालिएको प्रदर्शन गरेको सिटीले २२औं मिनेटमा बराबरी गोल फर्कायो। फिल फोडेनले बेनान्र्डो सिल्भाको पासमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए। ४०औं मिनेटमा सिल्भाकै पासमा रोड्रीले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए। त्यसको चार मिनेटपछि सिटी १० खेलाडीमा सीमित भयो। जोन स्टोन्स बाहिरिएपछि दबाबमा परेको सिटीले रक्षात्मक खेल्दै अग्रता जोगाउँदा स्पष्ट अंक जोड्न सफल भएको हो।
स्पष्ट अंक जोडेको सिटीले ३३ खेलबाट दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग ११ अंकको अन्तर बनाएको छ। घरेलु मैदानमा अंक गुमाएको एस्टन भिल्ला ३१ खेलबाट ४४ अंकका साथ तालिकाको ११औं स्थानमा छ। ‘सुरुआत अनपेक्षित थियो। तर सम्हालिएको प्रदर्शन गर्दै टोली खेलमा फर्किन सफल भयो। टोलीको प्रदर्शनमा म सन्तुष्ट छु,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘फोडेनको खेल निकै प्रभावशाली रह्यो। उनी टोलीका राम्रा खेलाडीका रूपमा स्थापित हुन थालिसेका छन्।’
प्रिमियर लिगअन्तर्गत बुधबारकै खेलमा टोटेनह्यामले पाहुना टोली साउथह्याम्पटनलाई २–१ ले स्तब्ध बनायो। टोटेनह्यामले पुनरागमनमा जित निकालेको हो। ड्यानी इङ्सले साउथह्याम्पटनलाई ३०औं मिनेटमा गोल गरे। यो अग्रतालाई उल्टाउँदै टोटेनह्यामले तीन अंक जोडेको हो। टोटेनह्यामका लागि ग्यारेथ बेलले ६०औं र सन ह्युङ मिनले अन्तिम मिनेटमा पेनाल्टीबाट जित दिलाएका थिए। जितसँगै टोटेनह्यामले ३३ खेलबाट ५३ अंक बनाएको छ भने पराजित साउथह्याम्पटनले ३२ खेलबाट ३६ अंक जोडेको छ।
प्रकाशित: १० वैशाख २०७८ ०५:१६ शुक्रबार