४ वैशाख २०८१ मंगलबार
खेल

महिला राष्ट्रिय लिग: एपिएफको शतप्रतिशत जित यथावत्

बलका लागि प्रतिस्पर्धा गर्दै एपिएफकी गीता राना (सेतो) र वालिङकी मेथु रुथ । तस्बिर: नागरिक

एपिएफले महिला राष्ट्रिय लिगमा शतप्रतिशत नतिजालाई नवौं खेलसम्म पनि निरन्तरता दिएको छ। शनिबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको पहिलो खेलमा एपिएफले स्याङ्जाको वालिङ नगरपालिकामाथि ६–० को जित हात पारेको हो। एपिएफको जितमा स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिकसहित ५ गोल गर्दा प्रीति राईले १ गोल गरिन्। पहिलो चरणमा एपिएफले वालिङलाई ३–० ले हराएको थियो।

९ खेलको समाप्तिमा २७ अंक जोडेको एपिएफ शीर्ष स्थानमा छ। जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको त्रिभुवन आर्मी क्लबभन्दा ५ अंक बढी हो। १० खेल खेलेको वालिङ १४ अंकका साथ तेस्रो स्थानमा छ। ९ खेलमा १४ अंक नै बटुलेको नेपाल पुलिस क्लब चौथो स्थानमा छ। १० खेलमा १३ अंकका साथ विराटनगर महानगरपालिका पाँचौं स्थानमा छ भने ६ अंकका साथ चन्द्रपुर नगरपालिका छैटौं स्थानमा छ।  

१० खेलको समाप्तिमा अंक खाता खोल्न नसकेको उदयपुरको चौदण्डीगढी नगरपालिका सातौं स्थानमा छ। ‘वालिङ राम्रो टोली हो। उनीहरूका विदेशी खेलाडी उत्कृष्ट छन्,जो एक्लैले खेलको नतिजा उल्ट्याउने क्षमता राख्छन्,’ एपिएफकी प्रशिक्षक भगवती थापाले भनिन्, ‘खेलको सुरुआतमै अग्रता लिँदा सहज जित हात पार्न सम्भव भयो। वालिङकी गोलकिपरले पनि उत्कृष्ट प्रदर्शन गरिन्।’

यता वालिङका प्रशिक्षक दिलीप थापाले भने एपिएफविरुद्ध टोलीले राम्रो खेल खेल्दाखेल्दै पनि फराकिलो हार व्यहोर्नुपरेको बताए। ‘राम्रो खेल्यौं। कम गोल खाने रणनीति भए पनि सफल भएनाैं,’ थापाले भने, ‘हाम्रो लक्ष्य लिगमा तेस्रो स्थानमा बस्ने हो। त्यसैले हाम्रो अबको ध्यान भनेको अन्तिम दुई खेलमा शतप्रतिशत नतिजा ल्याउनु हो। हामीले लिगअघि कम्तीमा दोस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्ने लक्ष्य बनाएका थियौं। पछिल्लो खेलमा आर्मीसँगको हारले सो लक्ष्य पूरा भएन।’

शनिबार नै भएको दिनको दोस्रो खेलमा विराटनगरले हारको यात्रामा पूर्णविराम लगाएको छ। यस क्रममा विराटनगरले उत्कृष्ट पुनरागमनमा चौदण्डीगढीलाई २–१ ले हराएको हो। दोस्रो चरणको सुरुआती तीन खेलमा विराटनगर क्रमशः चन्द्रपुर, वालिङ र पुलिससँग निराश भएको थियो।

विराटनगरको जितमा पार्वती घलेले २ गोल गरिन् भने चौदण्डीगढीकी मनिता तामाङले १ गोल गरिन्। खेलको आठाैं मिनेटमा चौदण्डीगढीले मनिताको गोलमा अग्रता लिएको थियो। त्यसको ७ मिनेटपछि पार्वतीले विराटनगरलाई खेलमा फर्काएकी थिइन्। खेल सकिन २ मिनेट बाँकी हुँदा चौदण्डीगढीकी गोलकिपर देवकी श्रेष्ठले बल राम्रोसँग नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई पार्वतीले जाली चुमाएकी थिइन्।

प्रकाशित: २ फाल्गुन २०७७ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App