९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

सेभिया फाइनलमा

सिजनको तेस्रो सेमिफाइनल गुमाएसँगै म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले आफ्नो टोली पछिल्लो केही साता खेलाडी सरुवा बजारमा व्यस्त रहेकाले हार बेहोर्नुपरेको प्रतिक्रिया दिएका छन्।

स्पेनिस ला लिगा क्लब सेभियाले आइतबार उत्कृष्ट पुनरागमनमा इङ्लिस प्रिमियर लिग क्लब युनाइटेडमाथि २–१ को जितका साथ युरोपा लिगको फाइनल पक्का गरेको थियो।

खेलको आठौं मिनेटमा नै ब्रुनो फर्नान्डेजले गरेको पेनाल्टी गोलमा ओले गनर सोल्सजयारको टोली खेलमा अघि बढेको थियो। सेभियाका डिएगो कार्लोसले मार्कुस रसफोर्डलाई पेनाल्टी बक्समा लडाएपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो।

तर त्यसको २० मिनेटपछि नै सुसोले सेभियालाई खेलमा फर्काएका थिए। खेल सकिन १० मिनेट बाँकी हुँदा जिसस नाभासको क्रसलाई लुक डी जोङले पोस्टको दिशा दिएसँगै सेभियाको फाइनल यात्रा पक्का भएको थियो।

सेभियालाई युरोपा लिगकै एक सफल टोलीका रूपमा लिइन्छ। सेभिया युरोपा लिगको फाइनल प्रवेश गरेको यो छैटाैं पटक हो।

सेभियाले फाइनलमा इन्टर मिलान र साख्तर डोनेस्कबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ।

सेभियालाई युरोपा लिगकै एक सफल टोलीका रूपमा लिइन्छ। सेभिया युरोपा लिगको फाइनल प्रवेश गरेको यो छैटाैं पटक हो।

तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गरेसँगै युनाइटेड आगामी सिजनका लागि च्याम्पियन्स लिगमा छनोट भइसकेको छ। तर युनाइटेडको टोलीमा रहेको समस्या पुनः एक पटक उजागर भएको छ। पहिलो रोजाइको टोलीमा पूर्ण रूपमा निर्भर देखिएका सोल्सजायरले खेलको अन्तिम ३ तीन मिनेट बाँकी रहँदा मात्र वैकल्पिक खेलाडीको प्रयोग गरेका थिए।

अबको करिब ४ सातामा युनाइटेडको प्रिमियर लिग नयाँ सिजन सुरु हुँदै छ र टोली बोरुसिया डर्टमन्डका जाडोन सान्चोलाई भित्र्याउने प्रक्रियाको सुरुआती चरणमै उल्झिरहेको छ। डर्टमन्डले सान्चोलाई कुनै पनि हालतमा नबेच्ने बताउँदै आएको छ।

‘हामीले बलियो टोली बनाउन आवश्यक छ, जुन धेरैे सिजनसम्म जाओस्,’ सोल्सजायरले भने, ‘म कहिले सरुवा बजार पूरा हुन्छ भन्न सक्दिनँ तर हामी राम्राभन्दा राम्रा खेलाडी टोलीमा भित्र्याउन लागिपरेका छाैं।’

सेभियाले युरोपा लिगको नकआउट चरणमध्ये पछिल्लो २६ खेलमा २५ खेल जितेको छ र टोली पुनः उपाधिनजिक पुगेको छ।

‘पछिल्लो केही वर्षयता यो म्यानचेस्टर युनाइटेडको उत्कृष्ट टोली हो, त्यसैले हामी उनीहरूविरुद्ध जित हात पार्दा हर्षित छाैं,’ सेभियाका प्रशिक्षक युलेन लोप्तेगीले भने, ‘हामी फाइनलका लागि उत्साही छौं, तर सो खेल कठिन हुने पक्का छ र हामी त्यसको तयारीमा जुटिसकेका छौं।’

सन् २०१८ को रूस विश्वकपदौरान स्पेनिस टोलीका साथ रूस पुगेका लोप्तेगीले रियाल मड्रिडको प्रशिक्षक बन्ने प्रस्ताव स्वीकार गरेको भन्दै स्पेनिस टोलीले उनलाई बर्खास्त गरेको थियो। त्यसको केही समयपछि नै रियालले समेत उनलाई बर्खास्त गरेको थियो। पछिल्लो २ सिजन उनी सेभियामै छन्। सेभिया सबैखाले प्रतियोगिता गरी पछिल्लो २० खेलमा अपराजित रहँदै आएको छ।

‘बन्द रंगशालामा खेल्नु आफैंमा अनौठो थियो,’ लोप्तेगीले भने, ‘टोली सहयात्रीको समर्थनले यस्तो परिस्थितिमा विशेष अर्थ राख्छ।’

प्रकाशित: २ भाद्र २०७७ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App