९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

सद्भावसहित ईदान्त र अवानीको अग्रता

सद्भाव आचार्यसहित तीन गल्फरले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपमा बुधबार शीर्ष स्थानमा अग्रता बनाएका छन्।

नेपाल गल्फ संघद्वारा आयोजित च्याम्पियनसिपमा पहिलो दिन सद्भावसहित ईदान्त सिंह साउद र अवानी राईले आआफ्ना उमेरसमूहमा अग्रता लिएका हुन्। राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सद्भाव पाँच अन्डर ६३ को उत्कृष्ट स्कोरसहित शीष स्थानमा रहे। उनले संसार विकेमाथि १३ स्ट्रोकको फराकिलो अग्रता बनाएका छन्।

सदभावले फ्रन्ट नाइन दुई अन्डर ३२ मा सकाए। यस क्रममा उनले पहिलो, दोस्रो, चौथो र नवौ होलमा १/१ सट बचाए। तर पाँच पारको तेस्रो होलमा भने उनले डबल बोगी सामना गरे।

ब्याक नाइनमा उनले दशौंदेखि १३औं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे। यद्यपि, १८औं होलमा एक सट खेर फालेपछि उनले ब्याक नाइनमा तीन अन्डर ३१ को कार्डमा बनाए। संसारले आठ ओभर ७६ को स्कोरसहित सद्भावलाई पछ्याइरहेका छन्।

यस क्रममा उनले संसारले फ्रन्ट नाइन तीन ओभर ३७ र ब्याक नाइन पाँच ओभर ३९ मा सकाए। स्वप्निल भट्टराई तेस्रो स्थानमा छन्। उनले १० ओभर ७८ को स्कोर कार्ड बनाए। पुरूषकै १२ देखि १६ वर्ष उमेरसमूहमा ईदान्त सिंह साउदले १६ ओभर ८४ सहित अग्रता लिएका छन्।

उनी दोस्रो स्थानका सिद्धान्त सापकोटाभन्दा दुई स्ट्रोकले अगाडि छन्। ईदान्तले फ्रन्ट नाइन सात ओभर ४१ र ब्याक नाइन ९ ओभर ४३ मा पूरा गरे। सिद्धान्त भने १८ ओभर ८६ को स्कोरमा छन्। सोहम अग्रवाल र दीपकबहादुर कामी २१ ओभर ८९ सहित संयुक्त रूपमा तेस्रो स्थानमा छन्।

महिला खुलामा अवानी राई २० ओभर ८८ सहित शीर्ष स्थानमा छिन्। अवानीले आइन्स्टिना टण्डनलाई पाँच स्ट्रोकले पछि पारेकी छन्। आइन्स्टिनाले २५ ओभर ९३ को स्कोर दर्ज गरिन्। ५४ होलको तीनदिने प्रतियोगितामा पुरूषमा २७ र चार महिला गरी कुल ३१ जुनियर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन्।

तीन उमेरसमूहका विजेताले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन्। प्रतियोगिता सकिएपछि तीन विजेताको स्कोर संघले फाल्डो फाउन्डेसनलाई पठाउने र त्यसपछि स्पेन वा भियतनाममा नेपालका गल्फरले देशको प्रतिनिधित्व गर्न पाउने भएका छन्।

प्रतियोगितामा काठमाडौंबाहेक पोखरा, धरान र चितवनका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। यो प्रतियोगिता सन् २०१२ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ। कोभिड महामारीपछि भने यो हुन सकेन। हालै नेपाल गल्फ संघले फाल्डो सिरिजसँग तीन वर्षको सम्झौतासँगै पुनः शुरू भएको हो। 

प्रकाशित: २९ चैत्र २०८० ०६:५६ बिहीबार

नेपाल गल्फ संघ सद्भावसहित ईदान्त र अवानीको अग्रता