८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

एभरेस्ट र हेल्प नेपाल च्याम्पियन

विदेशी खेलाडीको साथ पाएका हेल्प नेपाल स्पोर्टस् र एभरेस्ट भलिबल क्लब आठौं आरबिबी एनभिए भलिबल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।

एभरेस्ट भलिबल क्लब पहिलो पटक च्याम्पियन भएको हो। हेल्प नेपालले भने उपाधि रक्षा गर्न सफल भयो। नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अरूणा शाहीको कप्तानीमा रहेको एभरेस्टले तीन भारतीय खेलाडीको साथ पाएको थियो।

यता, हेल्प नेपालले पाकिस्तानी खेलाडीले साथ पाएको थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न च्याम्पियनसिपको फाइनलमा दुवैले विभागीय टोलीलाई स्तब्ध बनाए। उत्कृष्ट पुनरागमन गर्दै हेल्प नेपालले त्रिभुवन आर्मी क्लबमाथि ३–२ को रोमाञ्चक जित रच्यो।

एभरेस्टले पनि पुनरागमन गर्दै विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३–१ को जित निकाल्दै उपाधिको स्वाद चाख्यो। च्याम्पियन हेल्प नेपाल र एभरेस्टले समान पाँच लाख रूपैयाँ प्राप्त गर्दा उपविजेता बनेका आर्मी र पुलिसले समान दुई लाख रूपैयाँ पुरस्कारसहित ट्रफी पाए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी दुवै विदेशी भए। महिलामा एभरेस्टकी भारतीय खेलाडी केपी अनुश्री र पुरुषमा हेल्प नेपालका भारतीय खेलाडी फखर उद्दीन उत्कृष्ट खेलाडी भए। दुवैले समान ४० हजार रूपैयाँसहित ट्रफी पाए।  

पाकिस्तानी खेलाडी चल्न नसक्दा फाइनलमा हेल्प नेपालको सुरुआत राम्रो हुन सकेन। यस क्रममा पहिलो सेट गुमाएको हेल्प नेपाल दोस्रो सेटमा पनि हारको संघारमा पुगेको थियो। तर, उत्कृष्ट पुनरागमन गर्‍यो र आर्मीमाथि रोमाञ्चक जित रच्यो। हेल्प नेपालले २०–२५ ले पहिलो सेट गुमाउन पुग्यो।

तर दोस्रो सेट भने हेल्प नेपालले २७–२५ आफ्ना पक्षमा पार्‍यो। तेस्रो सेट आर्मीले २५–२३ ले आफ्नो बनाएपछि पुनः हेल्प नेपाल पछि पर्‍यो। तर, निकै रोमाञ्चक बनेको चौथो सेटमा हेल्प नेपालले २९–२७ ले बाजी मार्‍यो। यससँगै खेल निर्णायक तथा पाँचौं सेटसम्म लम्बियो। पाँचौं सेट पनि निकै रोमाञ्चक रह्यो।

तर, यो सेटमा हेल्प नेपालले २२–२० ले बाजी मार्दै उपाधि रक्षा गर्‍यो। महिलातर्फ फाइनलमा भने एभरेस्टले पहिलो सेटमा गुमाउन पुग्यो। तर, त्यसपछि पुनरागमन गर्दै एभरेस्टले लगातार तीन सेट आफ्नो बनाउँदै समूहचरणमा पुलिससँग बेहोरेको ३–२ को हारको बदलासमेत लियो।

एभरेस्टले पुलिसलाई १९–२५, २५–२२, २५–१८ र २५–१९ ले हराएको हो। महिलातर्फ नै शुक्रबार नै एपिएफ तेस्रो भएको थियो। शनिबार पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस सफल भयो। पुलिसले गण्डकी प्रदेशलाई २५–१६, २५–२० र २९–२७ ले हरायो।

महिलामा विधागत उत्कृष्टअन्तर्गत लिबेरोमा पुलिसकी शान्तिकला तामाङ, सेटरमा एभरेस्टकी अरूणा शाही, सर्भरमा एपिएफ सरस्वती चौधरी, ब्लकरमा एभरेस्टकी भारतीय खेलाडी सूर्या एस र स्पाइकरमा पुलिसकी उषा भण्डारी चयन भए। सबैले समान १५ हजार रूपैयाँसहित ट्रफी पाए।
उत्कृष्ट प्रशिक्षकमा एभरेस्टका अर्जुन घिमिरे घोषित भए। उनले पनि १५ हजार रूपैयाँसहित ट्रफी पाए। पुरुषमा विधागत उत्कृष्टअन्तर्गत लिबेरोमा हेल्प नेपालका टोपबहादुर थापा, सेटरमा पुलिसका इम रानामगर, सर्भरमा आर्मीका धनबहादुर भट्ट, स्पाइकरमा हेल्प नेपालका पाकिस्तानी खेलाडी उस्मान र ब्लकरमा आर्मीका दुर्गाबहादुर खड्का चयन भए।

यी सबैले समान १५ हजार रूपैयाँ पुरस्कार पाए। हेल्प नेपालका उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए र उनले पनि १५ हजार रूपैयाँ पुरस्कार पाए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, पूर्वमन्त्री रामकुमारी झाँक्री, राखेप बोर्ड सदस्य प्रकाश कुसारी र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे। नेपाल भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगिता आठ दिनसम्म चलेको थियो।

प्रकाशित: ११ चैत्र २०८० ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App