८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

उत्कृष्ट पुनरागमनप्रति टेन हागको प्रशंसा

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागले नटिङ्घम फरेस्टविरुद्ध पहिलो चार मिनेटमा दुई गोल खानु निकै दुर्बल क्षण रहेको उल्लेख गर्दै आफ्ना खेलाडीको उत्कृष्ट पुनरागमनप्रति प्रशंसा गरेका छन्।

शनिबार राति भएको खेलमा पहिलो चार मिनेटमा नै दुई गोल बेहोरेपछि दबाबमा परेको युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै ३–२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो। ९० सेकेन्डमा नै टाइओ एओनिईले गोल गरेपछि युनाइटेडको सिजनको सुरुआत खराब रहने आकलन गरिएको थियो। त्यसको दुई मिनेटभन्दा कम समयमा युनाइटेडले अर्को गोल पनि बेहोर्यो। मोर्गान गिब्सको फ्रिकिकमा अनमार्क रहेका विली बोलीले गोल गर्दै नटिङ्घमलाई छिट्टै २–० को अग्रता दिलाए। त्यससँगै यस पटक पनि युनाइटेडको सिजनको सुरुआत खराब रहने देखियो।

‘फरेस्टको सम्मान गर्छु। तर, पनि हामीले उनीहरूलाई गोल गर्न दिन हुँदैनथ्यो,’ टेन हागले भने, ‘उनीहरूले सहज रूपमा गोल गर्न पाए। तथापि, कहिलेकाहीँ खेलमा यस्तो हुन्छ।’ युनाइटेडले गत हप्ता पनि टोटनह्यामसँग २–० को हार बेहोरेको थियो। त्यसैले नटिङ्घम फरेस्टविरुद्धको हारले युनाइटेड दबाबमा पर्न सक्थ्यो। सिजनको पहिलो खेलमा युनाइटेडले वुल्भ्सविरुद्ध १–० को जित निकाल्दा पनि निकै संघर्ष गर्नुपरेको थियो। फरेस्टविरुद्ध सुरुआतमा नै दुई गोल बेहोरेपछि युनाइटेडको खराब सिजन जारी रहन सक्थ्यो। तर, युनाइटेडले पुनरागमन गर्यो र तीन खेलमा दोस्रो जित निकाल्यो।  

पहिलो चार मिनेटमै दुई गोल बेहोरेपछि दबाबमा परेको युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै ३–२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।

क्रिस्टियन एरिक्सनको गोलबाट युनाइटेडले पुनरागमनको संकेत गरेको हो। उनले मार्कस रासफार्डको क्रसमा गोल गरेका थिए। त्यसपछि ब्रुनो फर्नान्डेजको सहयोगमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई बराबरीमा फर्काए। ६७औं मिनेटमा फरेस्ट १० खेलाडीमा सीमित भयो। युनाइटेडको काउन्टर अट्याकमा गोल हुने अवसरमा जोई ओरलले फर्नान्डेजलाई लडाएपछि उनले रातो कार्ड पाए। खेल सकिन १४ मिनेट बाँकी छँदा युनाइटेडले अग्रता लिने अवसर पायो। नटिङ्घम फरेस्टका डानिलोले रासफोर्डलाई लडाएपछि युनाइटेडले पेनाल्टी पाएको हो।  

उक्त पेनाल्टी अवसरमा फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ‘निकै डरलाग्दो सुरुआत भएको थियो। तर, मेरा खेलाडीले राम्रो चरित्र देखाए,’ टेन हागले भने, ‘हामीले धैर्यता राख्यौं र टिम गेममा ध्यान दियौं। हाम्रो योजना र विश्वासअनुसार खेलाडीले खेले। सोहीअनुरूप खेलाडीले तीन गोल गर्दा उत्कृष्ट पुनरागमन सम्भव भयो।’ त्यस्तो खराब सुरुआतबाट यसरी पुनरागमन गर्न सहज नभए पनि आफ्ना खेलाडीले सम्भव गराएको प्रशिक्षक टेन हागको भनाइ रह्यो।  

पछिल्ला हप्ता फर्नान्डेजले आफ्ना सहकर्मीविरुद्ध गरेको व्यवहारका कारण उनको चर्को आलोचना भइरहेको थियो। तर, पोर्चुगिज खेलाडीले राम्रो प्रदर्शन गर्दै आलोचनाबाट माथि उठ्ने प्रयास गरेका छन्। ‘म्यानचेस्टर युनाइटेडका खेलाडीको अर्थ हामीले बुझेका छौं। यो जर्सी पहिरने खेलाडीबाट धेरै अपेक्षा गरिएको छ र हामीले पनि त्यहीअनुसार काम गर्नुपर्छ,’ उनले भने। 

प्रकाशित: ११ भाद्र २०८० ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App