८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

दिनेशलाई सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि

सातौं वरीयताका दिनेश प्रजापतिले बिहीबार सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जितेका छन्।

रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा १३औं वरीयताका रमेश अधिकारीलाई ७–६ ले हराउँदै दिनेश उपाधि जित्न सफल भएका हुन्। उपाधिसँगै दिनेशले ६० हजार रूपैयाँ जिते भने उपविजेतामा सीमित रमेशले ४२ हजार रूपैयाँ प्राप्त गरे। सूर्य नेपाल गल्फ टुरमा पहिलो उपाधि जित्ने क्रममा दिनेशले पहिलो नौ होलको खेलमा ४ होलको अग्रता बनाए। १८ होलको समाप्तिमा दिनेश आठ होलको फराकिलो अग्रता बनाउन सफल रहे। खेलमा फर्कने संकेत देखाएका रमेशले १९औं, २०औं, २१औं र २२औं होल लगातार जित्दै दिनेशको अग्रतालाई चार होलमा घटाए।

दिनेशले २३औं होल जित्दा रमेशले २४औं र २५औं होल आफ्नो पक्षमा पार्दै दिनेशको अग्रतालाइ तीन होलमा झारे। तर २६औं र २७औं होल आफ्नो पक्षमा पार्दै दिनेशले ५ होलको अग्रता बनाए। यसपछि दिनेशले २९औं र ३०औं होल जित्दै ६ होल बाँकी रहँदा सहज जितका साथ उपाधि आफ्नो नाममा लेखाए। प्रतियोगितामा आठौं वरीयताका धनबहादुर थापा तेस्रो भए। १८ होलको प्रतिस्पर्धा बराबरीमा टुङ्गिएपछि धनले प्ले-अफको पहिलो होलमा १०औं वरीयताका भुवनकुमार रोक्कालाई पराजित गरे। तेस्रो भएका धनले ३२ हजार र भुवनले २४ हजार प्राप्त गरे।

क्वार्टरफाइनलमा पराजित चार खेलाडीहरू, नेपाल नम्बर एक प्रो शुक्रबहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौं वरीयताका रवि खड्काले समान ११ हजार प्राप्त गरे।

यसैगरी पहिलो चरणबाट बाहिरिएका टंकबहादुर कार्की, सञ्जोक मोक्तान, कृष्णमान राजवाहक, प्रदीपकुमार लामा, सञ्जय लामा, सूर्यप्रसाद शर्मा, बलभद्र राई र रामे मगरले समान छ हजार प्राप्त गरे।

विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र ब्रान्ड म्यानेजर विदुरराज अधिकारीले पुरस्कार वितरण गरे। सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२–२३ सिजनको चौंथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन पोखरास्थित हिमालयन गल्फ कोर्समा फागुन १० गतेदेखि आयोजना हुनेछ।

प्रकाशित: १३ माघ २०७९ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App