१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नयाँ जनप्रतिनिधि आएपछि निर्माण कार्यदल र श्रम रोजगार बैंक बेकामे

निमार्ण कार्यदल र श्रम रोजगार बैंकका युवाहरु।

अघिल्लो सरकारले कालिकोटको पलाँतामा युवालाई रोजगारी दिन पलाँता निर्माण कार्यदल घोषणा गर्‍यो । देशै भरी चर्चा भयो। युवामा रहेको परनिर्भता र रोजगारीका लागि भारत धाउनुपर्ने बाध्यता कम गर्ने भन्दै ३ वर्षअघि सुरु गरेको निर्माण कार्यदल अहिले अलपत्र छ।

तामझामका साथ कामसुरु गरेको पालिकाले सडक निर्माण,विद्यालय,खानेपानी योजना लगायतका काममा सुरुमा करिब ३ सय जनासदस्य कार्यदलमा राखेपनि अहिले भने कार्यदलमा  एकजना पनि सदस्य छैनन्।

पलाँता गाउँपालिका अध्यक्ष विष्णु रोकायाले सभामा खासै कुरा नउठेको बताए। उनले भने ‘हामी आउँदै गर्दा निर्माण कार्यदल थिएनन्। खोजी गरेर ल्याउन सकेनांै। लिस्टमै नभएका कर्मचारी कहाँवाट खोजेर ल्याउने?’  

सुरुवातमा राम्रो सफलता पाएको निर्माण कार्यदललाई निरन्तरता दिन नसक्दा अहिले ठप्प छ। पलाँता गाउँपालिकाले निर्माण कार्यदल पुर्णरुपमा खारेज गरेको छ। अहिले कुनै पनि सदस्य निर्माण कार्यदलमा छैनन्।

 त्यसैको सिको गरेर रास्कोट नगरपालिकाले २ वर्षअघि श्रम रोजगार बैंकको घोषणा गर्‍यो । रोजगारीका लागि भारतलगायत खाडी मुलुक भौतारिने युवा जनशक्तिलार्ई गाउँठाउँमै काम दिने उद्देश्यले सुरु गरिएको श्रम रोजगार बैंक नयाँ जनप्रतिनिधिको आगवनसँगै ठप्प छ ।

नगरपालिकाले सुरुका वर्ष श्रम रोजगार बैंकका सदस्यमार्फत विद्यालय भवन,खेल मैदान, सडकलगायतका पूर्वाधार विकासका काममा ५ करोड रुपैयाँ खर्च गरेको थियो । पछि बजेट घटेर काम नै नपाउने अवस्था भएपछि समस्या भएको बैंकका अध्यक्ष पदमबहादुर खड्काले बताए ।

‘सुरुमा त युवामा निकै उत्साह थियो, ’उनले भने, ‘बजेट घट्दै गयो,काम पनि नपाउने अवस्था आयो ।’ उनका अनुसार हाल बैंकका अधिकांश सदस्य तितरवितर भइसकेका छन्। कोही कमाइका लागि भारत गएका छन् भने केही काठमाडौं ठाउँमा काम खोज्दै भौँतारिरहेका छन्। नयाँ जनप्रतिनिधि आएपछि नगरसभाले श्रम रोजगार बैंकका लागि बजेट विनियोजन गर्न सकेन ।’

पालिकाका २ सय ६० जना युवालाई समेटेर निर्माण गरिएको रोजगार बैंकको समूह अहिले बेरोजगार बनेको स्थानीयको आरोप छ।

श्रमरोजगार बैंकको कार्यविधि २०७५ दफा ६ को उपदफा ५ मा नगरपालिकाले योजनाको छनोट,हरेक आर्थिक वर्ष सुरु भएको पहिलो महिनामा वार्षिक कार्ययोजना दिनुपर्ने उल्लेख छ।  

सरकार हुँदा सम्म निर्माण कार्यदल र श्रम रोजगार बैंकका प्रमाण भेटिने गरेका थिए। तर स्थानीय तहको दोस्रो कार्यकालका जनप्रतिनिधिले सत्ता समालेसंगै नाम पनि सुनिन छोडेका छन्।

यस्तै दैलेखको भगवतीमाई गाउँपालिकाले पनि तीन वर्षअघि श्रम रोजगार बैंक घोषणा गर्‍यो । रोजगारीका लागि भारतलगायत खाडी मुलुक भौँतारिने युवा जनशक्तिलार्ई गाउँँमै काम दिने उद्देश्यले सुरु गरिएको श्रम रोजगार बैंकमा पनि ठप्प छ। गाउँपालिकाले १ सय ४० जना युवाहरुलाई १२ महिना कामदिन नसक्दा अहिले बन्द रहेको सुचना अधिकारी प्रेमबहादुर खड्काले बताए। दैनिक नगरको सडक,खानेपानि मर्मत तथा सम्भरको काम गरे अनुसार दैनिक ज्याला पाउने गरेका छन्। उनले भने ‘कामदार अहिले श्रम रोजगार बैंकमा छैनन्। गाउँका युवाहरुलाई रोजगा दिनकैलागि र भारत जाने युवाहरुलाई रोक्नका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९मा १ करोड ७५ लाख रुपैयाँ छुटाएको छ। वर्षातले युवाहरुलाई काम गर्न समस्या हुदा अहिले काम ठप्प रहेको छ।’

प्रकाशित: २२ भाद्र २०७९ ०५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App