विराटनगर भन्सारबाट जाँचपास भएर निस्किएको कन्टेनरबाट बीच सडममै शंकास्पद गतिविधि गरेको आशंकामा ५ कन्टेनर चाइनिज स्याउ प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ शंकास्पद अवस्थामा कन्टेनरबाट अर्को ट्रकमा लोड गर्दै गर्दा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।
विराटनगर महानगरपालिका–१३ स्थित मलाया रोडमा कन्टेनरबाट नेपाली नम्बरका ट्रकमा लोड गर्दैगर्दा नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ। मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार भन्सार कागजात भिसिटिएस देखाउन नसकेको र तोकिएको स्थानभन्दा अन्यत्र शंकास्पद तरिकाले स्याउ नेपाली नम्बरका ट्रकमा लोड गरिएका कारण नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।
चीनबाट भारतको कोलकाता हुँदै नेपाल प्रवेश गरेका कन्टेनरमा रहेको स्याउको परिणाम एकीन भइ नसकेको बताउँदै, डिएसपी श्रेष्ठले भने, ‘शंकास्पद गतिविधि गरेको अवस्थामा स्याउ लोड गरिएको भारतीय नम्बर प्लेटका ५ वटा कन्टेनर र ३ वटा नेपाली ट्रकलाई पनि नियन्त्रणमा लिएका हौं। स्याउसहित कन्टेनर र ट्रकलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।’
भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) मा विवरण नभरिकन स्याउ ढुवानी गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। भिसिटिएसको विवरण चालकले उपलब्ध गराउन नसकेको र भन्सार जाँचपास भएका कागजात चालकको साथमा थिएन। भारतीय नम्बरका गाडीले बाटोबाटै अर्को गाडीममा सामान ‘अनलोड’ गर्न नपाइने बताउँदै, डिएसपी श्रेष्ठले भने, ‘ढुवानीको अन्तिम विन्दुमा पुर्याएर मात्रै ‘अनलोड’ पाइन्छ। भिसिटिएस प्रणालीमा विवरण प्रविष्ट नगरी स्याउ ढुवानी गरिए जस्तो देखिन्छ। राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐनले मालवस्तुको ढुवानीमा भिसिटिएस प्रणाली अनिवार्य गरेको छ।’
एनएल ०१ एइ ४७०५, एनएल ०१ एबी २४१०, एनएल ०१ एई ३७२२, एनएल ०१ क्यू २२२२ र एनएल ०१ एन २६६३ नम्बरको कन्टेनर र कन्टेनरलाई बाटोमै रोकेर स्याउ ‘अनलोड’ गर्दै गरिएका ना ५ ख ५६००, को १ ख ६९३९ र प्रदेश १–०२–००१ ख ८५५६ नम्बरका ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।
प्रकाशित: ११ भाद्र २०७९ १५:५० शनिबार