१६ चैत्र २०८० शुक्रबार
समाज

'जलवायु परिवर्तको सबैभन्दा बढी असर महिलालाई'

प्रदेश सांसदहरुले नेपालमा जलवायु परिवर्तनको असर डरलाग्दो बन्दै गएको भन्दै सचेत हुनुपर्ने बेला आएको बताएका छन्। नेपालमा पछिल्लो समय जलवायुजन्य परिवर्तनका कारण मानवजीवनमा ठूलो असर परिरहेको भन्दै त्यसतर्फ तीन वटै सरकार सचेत भएर काम गर्ने बेला भएको बताएका हुन्।

जलवायु परिवर्तनको असर सबैभन्दा धेरै महिलालाई पर्ने गरेको विज्ञहरुको भनाइ छ। जलवायु परिवर्तनका कारण खानेपानीको मुहान सुक्नुले पानी लिन टाढा धाउनुपर्ने बाध्यता छ। जसकारण घरको काम गर्ने महिलाहरुमा झनै बढी कामको चाप थपिएको छ। यसको प्रत्यक्ष असर हिमाली र पहाडी भेगका महिलाहरुमा परेको छ।

यस्तै कर्णाली प्रदेश सांसद एवं कर्णाली प्रदेशकी सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलील्ले जलवायु परिवर्तनको असर मानवविकासमा समेत परिरहेको बताइन्। उनले कर्णाली प्रदेशमा जलवायुका परिवर्तनका कारण भूक्षय, बाढीपहिरोको प्रकोप उच्च रहेको र विकासका पूर्वाधारहरु पनि पर्याप्त नभएको गुनासो गरिन्।

अध्यक्ष ओलीले कर्णाली प्रदेशलाई हरेक हिसाबमा विकास र सुसुचित पार्न गाह्रो रहेको बताइन्। उनले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशको संस्कृति, स्थानीय भाषा, महिलाहरुको सामाजिक संरचना, कुरिति महिलाहरुप्रति सांस्कृतिक हिसाबले पनि धेरै बन्देजहरु रहेको बताइन्।

समिति अध्यक्ष ओलीले कर्णालीमा अझै महिलालाई नेतृत्वदायी भूमिकामा विश्वास गरिहाल्ने अवस्था नरहेको भन्दै महिलाले पाए सबै काम गर्दछन् भन्ने मासिकता परिवर्तन गर्न गाह्रो रहेको बताइन्। उनले महिलाहरु अनौपचारिक कार्यक्रममा धेरै उपस्थित हुन बन्देज रहनु अहिलेको वास्तविक समस्या रहेको बताइन्।

त्यस्तै वागमती प्रदेशकी सांसद एवं उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले पार्टीगत रुपमा नै नेतृत्व वर्गमा महिलाको बारेमा सोचाई फरक रहेको बताइन्। उनले महिलालाई कुनैपनि जिम्मेवारी दिँदा पूरा गर्नसक्ने आधार तयार भइसके पनि नेतृत्व तहमा अझै महिलालाई नेतृत्व प्रदान गर्ने बुझाइमा विकास हुन नसकेको बताइन्।

सभापति आलेमगरले निडरका साथ राम्रो काम गर्दा वयवधान आएपनि समाधान गरेर अघि बढ्ने आफ्नो कार्यको अनुभव रहेको बताइन्। उनले महिलाले नेतृत्व गरेको समितिमा बस्दा विषयवस्तु तयारी गरेर मात्रै बस्न बाध्य बनाउने स्थितिसम्म पुर्‍याएको बताइन्।

सभापति आलेमगरले प्रदेश सरकारले क्षणिक समाधान भन्दापनि जलवायु परिवर्तनबाट परेका असरहरु न्यूनिकरणका लागि दीर्घकालिन योजना बनाएर अघि बढ्नुपर्ने बताइन्। उनले गत वर्ष जलवायु परिवर्तका कारण मेलम्चीमा गएको बाढीको उदाहरण दिँदै यस्ता विपद्लाई कम गर्न प्रदेश, स्थानीय र संघीय सरकारले विशेष पहल गर्न आवश्यक रहेको बताइन्।

सभापति आलेमगरले मेलम्चीमा दीर्घकालीन रुपमा धेरै तटबन्धन गर्नुपर्ने अवस्था रहेको भन्दै समयमै तटबन्धन नगरे यसको असर भयानक हुने बताइन्। सभापति आलेमगरले भत्किएका पार्क, भत्किएका खेल मैदान, भत्किएका स्वास्थ्य चौकीलाई अघि बढाउन पनि वागमती प्रदेश सरकारलाई निर्देशन दिएको बताइन्।

उनले नारायणी नदीले काटेको तटबन्धनलाई संरक्षण गर्ने र अन्य ठाउँमा वर्षाका कारण भएका क्षतिलाई नियालेर दीर्घकालीनरुपमा समस्या निवारण गर्नुपर्नेमा प्रदेश सरकारले काम अघि बढाउन आवश्यक रहेको पनि बताइन्। जलवायु परिवर्तनका कारण नेपालमा हिमताल फुट्ने, खानेपानीको शंकट, चरणक्षेत्रहरु हराउनु, हिमालमा हिउँ नपर्नु जस्ता समस्याहरु देखिएका छन्।

जलवायु परिवर्तनको असर विशेष गरेर नेपालमा महिला, दलित, आदिवासी, जनजाति, अल्पसंख्यक र सीमान्तकृत समुदायमा परेको छ। महिला तथा सीमान्तकृत समुदायहरुको जीविकोपार्जन तुलनात्मक रुपमा प्राकृतिक श्रोतमा बढी निर्भर छ। यी श्रोत जलवायु परिवर्तनका असरप्रति अति संवेदनशील रहेका कारण श्रोतहरुको उपलब्धता र गुणस्तरमा आएको क्रमिक ह्रास एवं क्षतिका कारणले ती क्षेत्रको जीवनस्तरमा प्रत्यक्ष असर पर्दै आएको छ।

प्रकाशित: ७ असार २०७९ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App