८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङ: ६ महिनाको अवधिमा ९ वटा मानवअधिकारका घटना

ताप्लेजुङमा ६ महिनामा ९ वटा मानवअधिकारको घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार आयोजित अर्धवार्षिक समिक्षा कार्यक्रममा सरोकारवालाबीच प्रतिवेदन सार्वजनिक गरेको हो।

इन्सेक प्रतिनिधि देवराज गुरुङका अनुसार ६ वटा बलात्कार, १ वटा स्वास्थ्यकर्मी दुव्र्यवहार, १ वटा जेष्ठ नागरिक हत्या र १ वटा जेष्ठ नागरिक अंगभंग घटना रहेका छन्। बालविज्याँई गरेका २ जना बालक सुधारगृह पठाइएको र हाडनातामा बलात्कारका घटना समेत पाइएकाले सचेतनामूलक कार्यक्रम संञ्चालनमा जोड दिइएको छ।

परिवारकै सदस्यबाट जेष्ठ नागरिकको हत्या र छिमेकीबाट जेष्ठ नागरिकको आँखा देख्न नसक्नेगरिको कुटपिट समेत समिक्षा कार्यक्रममा छलफलको विषय बनेको छ। इन्सेक प्रतिनिधि गुरुङले भने,‘मानव अधिकार साझा विषय हो। दण्डहिनताको अन्त्य गर्न एकजुट हुनुपर्छ।’

कार्यक्रमका प्रमख अतिथि फुङलिङ नगरपालिका नगरप्रमुख अमिर मादेनले मानव अधिकारको विषयमा नगरसरकारको मात्र नभइ सबैको साझा विषय भएको बताए। व्यक्तिको नैसर्गिक अधिकार भएकाले मानवअधिकारको विषय संवेदनशिल भएको फुङलिङ नगरप्रमुख मादेनले बताए।

मानवअधिकारको विषयमा कोठामा भन्दा सार्वजनिक स्थानमा कार्यक्रम गर्न सुझाव उनको सुझाव थियो। मादेनले भने ‘आर्थिक र भौतिक सहयोग गर्न नगरपालिका तयार छ। किनकी मानवअधिकारको संरक्षण गर्नु साझा दायित्व हो।’

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले इन्सेकको वर्षपुस्तक मानव अधिकारको दस्तावेज भएको बताए। मानव अधिकारको विषयमा वकालत गर्न सबैको हातमालो हुनुपर्ने प्रजिअ पोखरेलको जोड थियो। सकारी वकिलको कार्यालयका ताप्लेजुङका निमित्त प्रमुख रमेश भट्टराईले नागरिकको मानवअधिकारको संरक्षणमा सबैले मिलेर काम गर्नुपर्ने बताए।

इन्सेकले वर्ष पुस्तकका कुनै घटना नछुटुन भनेर सरोकारवालासँग समिक्षा कार्यक्रम गर्ने गरेको छ। पत्रकार महासँघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले इन्सेकको कार्यक्रममा मानव अधिकारको विषयमा बहस हुने गरेको स्मरण गरे।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक कैलाश राई,कारागार प्रमुख कुलेन्द्र खवास, नेपाल वार इकाई ताप्लेजुङ बारका सचिव सचिव बलराम भट्टराई, नेकपा एमालेका गोपाल न्यौपाने, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सागरमणि गौतम, एकीकृत समाजवादी जिल्ला सचिव मोहन न्यौपाने, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, फुङलिङ नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, सञ्चारकर्मी, नागरिक समाजका अगुवा लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ६ असार २०७९ १३:३० सोमबार

मानवअधिकार