coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जलवायु परिवर्तनको असरप्रति सचेत रहन सुझाव

जलवायु परिवर्तनबारे जनप्रतिनिधिलाई सुझाव दिइँदै। तस्बिर: नागरिक

जलवायु परिवर्तनको नकारात्मक असर न्यूनीकरण गर्न नीतिगत प्रयास नभए मानव जाति र पृथ्वीको भविष्य जोखिमतिर धकेलिने विज्ञले चेतावनी दिएका छन्। तीनै तहका सरकारले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नीतिगत व्यवस्था गर्नुपर्ने सरोकारवालाको सुझाव छ।  

कृषिविज्ञ डा.योगेन्द्रमान श्रेष्ठले कार्बन उत्सर्जनमा नेपालको हिस्सा थोरै भएपनि विकसित देशले गरेको कार्बन उत्सर्जनले नेपाललाई असर गरिरहेको बताए। ‘कार्बन उत्सर्जन घटाउन र यसको नियन्त्रणका लागि तीनै तहका सरकारले उपयुक्त नीति बनाउन आवश्यक छ,’ उनले भने, ‘ढङ्ग पुर्‍याएर काम गरेमात्रै जलवायु परिवर्तनको असर कम गर्न सकिन्छ।’  

डा.श्रेष्ठले वनजङ्गल विकास गर्दैमा कार्बन नियन्त्रण हुने नभइ वन व्यवस्थापन भएमात्रै कार्बन घटाउनमा योगदान पुग्ने बताए। ‘वन धेरै भएर वा वृक्षरोपण गरेरमात्र हुँदैन, वयस्क रुखले मात्रै कार्बन कटौती गर्न सक्छ भन्ने पनि बुझ्नुपर्छ,’ उनले भने, ‘वन संरक्षण भन्दैमा बुढो भएका रुख वर्षाैंसम्म राखेर हुँदैन, वनका पुराना रुख हटाएर नयाँ रोप्नुपर्छ।’ उनले यही दरमा विश्वमा जलवायु परिवर्तन हुने हो भने पृथ्वी विनाशतिर धकेलिने भन्दै मानवजाति र पृथ्वी जोगाउने जिम्मा मानिसकै भएको बताए।  

डा.श्रेष्ठका अनुसार हजार वर्षमा १ सेन्टिग्रेट तापक्रम बढ्नु प्राकृतिक नियम भएपनि बीसौं शताब्दीमा ०.७६ सेन्टिग्रेट तापक्रम बढ्नुले पृथ्वी जोखिममा जाँदैगरेको देखिएको बताए। ‘जलवायु परिवर्तन मानवीय र प्राकृतिक कारणले हुन्छ,’ उनले भने, ‘मानवीय क्रियाकलापले भएको जलवायुको तीव्र परिवर्तनको हरेक असर देखिन थालेको छ।’

 श्रेष्ठका अनुसार जलवायु परिवर्तनको असरले नेपालमा पानीका मुहान सुक्न थालेका छन्। देशको दक्षिणी दिशा फर्किएको भू–भागमा रहेका पानीका मुहान सुक्नेक्रम तीव्र छ भने उत्तरी क्षेत्रतिर फर्किएका मुहानमात्र बचेका छन्। ‘तर, नेपालको धेरै भू–भाग चाहिँ दक्षिणतिरै फर्किएकाले पानीको जोखिम बढ्ने देखिन्छ,’ उनले भने, ‘हरितगृह ग्यासको प्रभाव हानीकारक हुने भएकाले जलवायु परिवर्तनको असर घातक हुँदैगएको देखिन्छ।’

जलवायु परिवर्तनको यस्तो जोखिम घटाउन सरकारले नीति, कार्यक्रम र बजेटमै व्यवस्था गर्नुपर्नेसमेत सरोकारवालाले सुझाएका छन्। जलवायु परिवर्तनको असर कम गर्दै वातावरण संरक्षण गर्न जिल्लाका विभिन्न संघ–संस्थाले सुझाव दिएका हुन्।

२०७१ सालमा स्थापना भएको सहयात्रा नेपालले वातावरणको असर कम गर्न इलाम नगरपालिकासँग नीतिगत पहलको मागसमेत गरेको छ। वातावरण संरक्षणमा क्रियाशील जिल्लाका विभिन्न संस्था सम्मिलित बहुसरोकारवाला मञ्चले नगरका मेयर, उपमेयर, वडाध्यक्षलगायतलाई  नगरलाई जलवायु परिर्वतनको प्रभाव कम गर्नैखालका नीति बनाउन आग्रह गरेको छ। सहयात्रा नेपालकी सविता पाण्डेले आफूहरूले विश्व वातावरण दिवस अवसरमा समेत जनप्रतिनिधिलाई यसबारे सुझावपत्र पेस गरेको बताइन्। उनका अनुसार ‘पाँच वर्षः पाँच काम’को अवधारणाअनुसार जनप्रतिनिधिलाई सुझाव पेस गरिएको थियो।  

वातावरण र विपद् व्यवस्थापनमा कम्तीमा २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने, जलवायु उत्थानशील अनुकूलन कार्यक्रम बनाइ कार्यान्वयन गर्नुपर्ने, नवीकरणीय ऊर्जा प्रविधिको घरेलु तथा व्यावसायिक प्रयोजनका लागि पहुँच सुनिश्चितता र प्रवद्र्धन गर्न ध्यानाकर्षण गरिएको हो। फोहोरबाट ऊर्जा र रोजगारी सिर्जना गर्न तथा जलवायुमैत्री विपद् जोखिम व्यवस्थापन, कृषि, पिउने पानी एवम् जीविकको पार्जनका कार्यक्रम ल्याउन पनि सुझाव पेस गरिएको पाण्डेले बताइन्।

इलामका मेयर केदार थापाले जलवायु परिवर्तनको जोखिम कम गर्न स्थानीय सरकार सचेत रहेको बताए। ‘यतिबेला नीति निर्माणको समय भएकाले ठीक समयमा ठीक सुुझाव आएका छन्, सकेसम्म नगरको नीति र कार्यक्रममा यो विषय समेटिने छ,’ उनले भने, ‘जलवायु परिवर्तन न्यूनीकरण गर्नेमात्र होइन, अप्राकृतिक हिसाबले जलवायु परिवर्तन हुनेगरी भइरहेका क्रियाकलाप नियन्त्रण गर्ने संयन्त्रसमेत आवश्यक भएको बताए।’

कृषिविज्ञ डा.श्रेष्ठले जलवायु परिवर्तनको असर कम गर्न जलवायुमैत्री कृषि प्रवद्र्धन, हरित कृषि अभियान, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवद्र्धन र प्रयोग, वातावरणमैत्री पूर्वाधार निर्माण र मानव व्यवहारमा परिवर्तन गर्न आवश्यक रहेको पनि जनाए। ‘कृषिबाली राम्रो हुन माटो, बीउ, प्रविधि र जलवायुको मिलन आवश्यक पर्छ,’ उनले भने, ‘माटो, बीउ र प्रविधि मान्छेले मिलाउन सक्ने भएपनि जलवायु चाहिँ मिलाउन नसक्ने भएकाले मौसमअनुकूलका बाली लगाउनुपर्छ।’ 

प्रकाशित: ३ असार २०७९ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App