८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

उपभोक्ताको हितमा काम गर्न सिडिओको निर्देशन

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका उद्यमी व्यवसायीहरुले स्थानीय उपभोक्ताहरुको हितमा काम गर्नुपर्ने बताएकी छिन्। भक्तपुर उद्योग वाणिज्य संघले उनको स्वागतमा गरेको कार्यक्रममा शर्माले कोभिडको महामारीको बेलामा व्यवसायीहरु पनि अग्रपंक्तिमा रही जनसेवामा लाग्नुपर्ने बताइन्।

महामारीको अवस्थामा लागू भएको निषेधाज्ञा हाल परिस्थिति केही सहज भएका कारण खुकुलो भए पनि स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरी व्यवसाय गर्नुपर्नेमा उनले जोड दिइन्। संघका अध्यक्ष प्रदीप श्रेष्ठले विगतमा जस्तै उद्योग वाणिज्य संघ र प्रशासनले आपसी समन्वय गरी उद्योगी व्यवसायीहरुको हितमा काम गर्ने विश्वास व्यक्त गरे। सोही क्रममा उनले संघको इतिहास र वर्तमान अवस्थामा गर्दै आइरहेका विभिन्न कार्यमाथि जानकारी दिँदै आगामी दिनहरुमा पनि जिल्लाको प्रगति र उन्नतिका लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।  

संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले पाँच दशक लामो इतिहास बोकेको संघले आफ्नो विगतका परम्परालाई कायम राख्दै जिल्ला प्रशासन कार्यालयसंग सहकार्य गर्दै अघि बढ्ने विचार राखे। त्यस्तै संघका महासचिव रोशनीमैयाँ धौबञ्जाले कोभिडको महामारीको बेलामा उद्यमी व्यवसायीले जोखिम मोलेर भए पनि आपूर्ति व्यवस्थापनमा निरन्तर लागेको स्मरण गर्दै खोप नपाएका उद्यमी व्यवसायी र उनीहरुका परिवारलाई खोपको व्यवस्था गरिदिन अनुरोध गरिन्। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी तथा संघका कार्यसमिति सदस्यहरुको पनि उपस्थिति रहेको थियो। 

प्रकाशित: ८ आश्विन २०७८ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App