८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

कैलालीमा असार १५ गतेसम्म निषेधाज्ञा थपियाे

कोरानाको दोस्राे लहरको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण र रोकथाम गर्न जिल्ला प्रशासन कैलालीले असार १५ गते सम्म निषेधाज्ञा थप गरेको छ। 

कैलालीमा कोराना भाईरसको संक्रमण तीव्र भएको अवस्थामा लगाएको निषेधाज्ञाले संक्रमित हुने र मृत्यु हुने संख्यामा केहि हदसम्म गिरावट आएपनि ढुक्क हुने अवस्था नभएकाले कोभिड १९ रोकथाम र नियन्त्रणका लागी केहि प्रावधान थप र परिमार्जन गरि निषेधाज्ञा थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताएका छन्। निषेधाज्ञा केहि खुकुलो पारिएको छ।

निषेधाज्ञाका कारणले आम नागरिकको जिवन कष्टकर बनेको, आर्थिक गतिविधी ठप्प भई मुलुककै अर्थतन्त्रमा गंभिर धक्का पुगेको र दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने निम्न बर्गिय व्यक्तीहरुलाई जिवन यापनमा कठिनाई भएकोले क्रमश जिवन स्तर सहज बनाउदै केहि मात्रामा आर्थिक गतिविधि चलायमान बनाउनु पर्ने र कोभिड १९ को रोकथाम तथा नियन्त्रण समेत गर्नुपर्ने दोहोरो जिम्मेवारी पुरा गुर्नुपर्ने अवस्था रहेकाले निषेधाज्ञालाई केहि परिमार्जन गरि असार ८ गते देखि असार १५ गते सम्मलाई निरन्तरता दिइएको प्रजिअ रिजालले जारी गरेको आदेशमा उल्लेख छ।

शिक्षण संस्था बाहेक सरकारी तथा सार्वजनिक कार्यालयले आलोपालो न्युनतम संख्यामा कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनिएको छ । यसैगरि निजी सवारीसाधन जिप,कार, भ्यान, मोटरसाईकल र स्कुटीलाई जोरबिजोर प्रणालीका आधारमा जिल्ला भित्र संचालन गर्न दिइने आदेशमा उल्लेख छ । यसैगरि ट्याक्सी र अटोलाई चालक सहित ३ जना राखेर जोर बिजोर प्रणालीका आधारमा जिल्ला भित्र संचालन गर्न दिइने भएको छ।

खाद्य सामग्रीका पसलहरु,निर्माण सामग्री, हार्डवेयर,ईलेक्ट्रोनिक्स,भाडावर्तनका पसलहरु, स्टेशनरी, पुस्तक पसल, कपडा तथा फेन्सि पसलहरु र टेलरिङ सेन्टरहरु बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्म संचालन गर्न पाइने आदेशमा उल्लेख छ। वर्कशपहरु बढीमा तीन जना मात्र कामदार राखेर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न पाउने छन्।

यसैगरि होटेल, रेस्टुरेन्ट, खाजा तथा चिया पसलहरुलाई श्वास्थ्य सुरक्षको मापदण्ड पालना गरि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म डेलीभरी तथा टेकअवे सेवा मात्र प्रदान गर्न छुट दिइएको छ । भिडभाड हुने प्रकारका कार्यक्रम, शभा , सम्मेलन, सेमिनार, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस,डान्सवार, दोहोरी,नाचघर, क्लव, स्विमिङ पुल, पार्क, मनोरंजन स्थल, सेलुन,व्युटिपार्लर, हेल्थपार्क, पुस्तकालय, संग्रालय , समुहमा खेलिने खेलकुदमा रोक लगाइएको छ।

नयाँ भेरियन्टको कोरानाको संक्रमणले बिकराल रुप लिदै गएपछि गत बैशाख १६ देखि कैलालीमा निषेधाज्ञा लगाइएको थियो । बैशाख १६ गते देखि बैशाख २२ गते निषेधाज्ञा जारी गरिएको कैलालीमा दोश्रो पटक जेठ ३० गते सम्म थप गरिएको थियो । तेश्रो पटक बैशाख २८ मंगलवार राती १२ बजेदेखि जेठ ६ गते राती सम्मका लागी कडा प्रावधान सहित निषेधाज्ञा जारी गरिएको थियो। 

चौथो पटक निषेधाज्ञा थप गरेर जेठ १३ , पाचौ पटक थप गरेर जेठ २० गते सम्म, छैटौ पटक थप गरेर जेठ ३१ र सातौ पटक थप गरेर असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।  कोभीड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४, र स्थानिय प्रशासन ऐन २०२८ दफा ६(३) ले दिएको अधिकार प्रयोग गरि निषेधाज्ञाको आदेश जारी गरेको प्रजिअ रिजालले बताएका छन्।

प्रकाशित: ७ असार २०७८ १२:२७ सोमबार

कैलाली निषेधाज्ञा थप