७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनामा दुई जनाको मृत्यु

पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराट चोकमा आइतबार राति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

राति पौने ८ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको टिपरका कारण दुर्घटना हुँदा मोटरसाइकलमा सवार नेपाली कांग्रेस धनकुटाका सचिव र बैंकका कर्मचारीको मृत्यु भएको प्रदेश १ ट्राफिक कार्यालयले जनाएको छ । पूर्वतर्फ गइरहेको टिपरबाट छलिन खोज्न विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल पल्टिएपछि त्यसमा अर्को मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

टिपरबाट जोगिन खोज्दा को २९ प ९५५० नम्बरको मोटरसाइकल सडकमा पल्टिए र पल्टिएको मोटरसाइकलमा टिपरको पछाडि रहेको अर्को को ३६ प ५९७९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए । मोटरसाइकलले टिपरलाई ओभरटेक गरी अघि बढ्न खोज्दा सडकमा पल्टिएको अर्को मोटरसाइकलसँग जुधेर दुर्घटना भएको र दुवै मोटरसाइकलमा सवार ३ जना घाइते भएका थिए ।  

घाइतेमध्ये को ३६ प ५९७९ नम्बरको मोटरसाइकल चालक धनकुटाको पाख्रीबास नगरपालिका–७ का ४६ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको छ भने मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । त्यस्तै को २९ प ९५५० नम्बरको मोटरसाइकलका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३१ वर्षीय दीपु साहको पनि मृत्यु भएको छ । साह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी भएको र बेलबारीबाट इटहरीस्थित घरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  

तीनै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुई जनाको राति साढे ९ बजेतिर मृत्यु भएको छ भने भीमबहादुर थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।  फरार भएको टिपरको खोजी कार्य भइरहेको र दुर्घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।  

प्रकाशित: ७ असार २०७८ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App