१६ चैत्र २०८० शुक्रबार
समाज

मौसम खराबीले मुख्यमन्त्री सहितको टोली मनाङमै रोकियो

उद्धार र राहतका सामाग्री बोेकेर मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम खराब मौसमले हेलिकप्टर फर्किन नसकेपछि मनाङमै रोकिएका छन ।  

मुख्यमन्त्री सहितको टिम अहिले मनाङ सदरमुकाम चामेमा छ । टोलीमा पोखरेल सहित अर्का मन्त्री राजीव गुरुङ (दिपक मनाङे) पनि छन । टिममा सांसद चिन्ता घले पनि सहभागी छन । औषधी, खाद्य सामाग्री र टेन्ट लिएर दिउँसो उनीहरु पोखराबाट नेपाली सेनाको हेलिकप्टरमा मनाङ पुगेका थिए । टिममा केही संचारकर्मी पनि छन ।  

मनाङमा अहिले सेना र प्रभु एयरको हेलिकप्टर छन । सदरमुकाम चामेमा सेनाको र बगरछापमा प्रभु एयरको हेलिकप्टर छन । मौसम खराब भएपछि दुवै हेलिकप्टर उद्धारमा पनि खटिन सकेका छैनन ।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार हेलिकप्टर उड्न नसकेपछि टिम मनाङमै रोकिएको छ । ‘मुख्यमन्त्री सहितको टिम अहिले मनाङमै रोकिएको अवस्था हो । मौसम खराबी भएकोले हेलिकप्टर उड्न सकेन । आजको रात मनाङमै रोकिने सम्भावना छ,’ लामिछानेले भने, ‘हेलिकप्टरले उद्धारमा पनि जान सकेका छैनन । मौसम एक्कासी बिग्रेकोले सबैतिर काम रोकिएको छ ।’ उनका अनुसार विहीबार मनाङमा ३५ जनालाई उद्धार गरिएको छ । सिरानतालबाट २४ र थोचेबाट ११ जनाको उद्धार गरिएको उनले बताए । ‘थोचेमा ढुंगाको कापमा बसेका उनीहरुलाई हेलिकप्टरको सहायताले सुरक्षित ठाउँमा सारिएको छ,’ उनले भने ।

प्रकाशित: ३ असार २०७८ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App