१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

जाजरकोटमा सातजना गोठाला सम्पर्कविहीन

फाइल तस्बिर

जाजरकोटस्थित कुसे गाउँपालिका–८,जलजला पाटनमा गोठाला गएका सातजना सम्पर्कविहीन भएका छन्। पाटनमा एक्कासी हावाहुरीसँगै ठूलो वर्षा भएपछि उनीहरु सम्पर्कविहीन भएका हुन्।

औँलाजाका उनीहरु जेठ ३१ गते गाई, भैंसी र बाख्रा लिएर भेरीगोठका लागि ११ जना पाटन गएका थिए। तीमध्ये चारजना सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले जानकारी दिए। उनका अनुसार अन्य सातजना सम्पर्कविहीन छन्। ४४ वर्षीय भक्तबहादुर रोकाया, १० वर्षीय कृष्ण रोकाया, १४ वर्षीया दुर्गा रोकाया र ५५ वर्षीया गंगा खड्का सम्पर्कमा आएका छन्। सोही वडाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय भिमबहादुर खड्का, १७ वर्षीया तुलसरा खड्का र सोही गाउँपालिका वडा नम्बर ९ चैनका ४० वर्षीय कृष्ण रोकाया सम्पर्कविहीन भएका डिएसपी थापाले जनाए।

सम्पर्कविहीन भएका उनीहरुको खोजीका लागि प्रहरी र स्थानीयहरु त्यस क्षेत्र गएका छन्। प्रहरीचौकी पइकबाट उक्त क्षेत्र जान करिब दुई दिन लाग्छ। जिल्ला सदरमुकाम खलंगाबाट करिब चार दिन लाग्ने प्रहरीको भनाइ छ। यस क्षेत्र सडक सञ्जालसँग नजोडिएकाले पैदल हिँड्दा जोखिमसमेत उस्तै छ।

सम्पर्कविहीन भएकाहरु ओढारमा बसेको हुन सक्ने सम्पर्कमा आएकाहरुको भनाइ छ। उद्दारमा ढिला हुँदा जीवित भएका भए जनावारको समेत डर हुने स्थानीयको भनाइ छ। सम्पर्कमा आएका चारजनाले बुधबार उनीहरु सम्पर्कविहीन भएको जानकारी गराएका थिए।

प्रहरीका अनुसार सातजनासँगै २२ गाई, १० भैंसी १० र ५० बाख्रा पनि हराएका छन्। यस क्षेत्रका बासिन्दा बर्सेनि भेरीगोठाला पाटनमा जाने गर्छन्।

प्रकाशित: २ असार २०७८ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App