मोरङको सुन्दरहरैँचा र सुनबर्षीका ३ जनालाई हतियार र लागूऔषधसहित प्रहरीले बिहीबार पक्राउ गरेको छ।
सुन्दरहरैँचा नगरपालिका–९ का चेवनकुमार धमला र सोही ठाउँका विशाल भन्ने खेम भट्टराई र सुनबर्षी नगरपालिका–८ का ६० वर्षीय अब्बास मियाँलाई हतियार र लागूऔषधसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये धमला र भट्टराईको साथबाट लागूऔषध नाइट्रोजन ट्याब्लेट ८ सय ९२ वटा र १३ दशमलब ८ सय ६० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ बरामद भएको थियो भने अर्का पक्राउ परेका मियाँको घर खानतलासी गर्दा कटुवा पेस्तोल १ थान र गोली २ थान, चक्कु १ थान, नाइट्रोजन ट्याब्लेट ६ सय वटा, डाइलेक्स डिसी २ बोतल फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत बेलबारी–१० को भाउन्ने जंगलस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको धमला र भट्टराई सवार प्रदेश नं. १–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकलले पदैल यात्री ३ जनालाई ठक्कर दिई घाइते बनाएको थियो। दुर्घटनामा बेलबारी–११ का १६ वर्षीय प्रितम राई, १५ वर्षका सन्देश दास र कानेपोखरी–७ का ६५ वर्षीय दिलकुमार योगी र मोटरसाइकलमा सवार दुवै जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरूको बेलाबारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भएको र मोटरसाइकलका दुवै जनालाई शंका लागी चेक गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धानका क्रममा उनीहरूले अब्बास मियाँसँग लागूऔषध खरिद गरेको खुलेको र त्यसैका आधारमा मियाँको घर खानतलासी गर्दा हतियार र लागूऔषध बरामद भएको डिएसपी राईले बताए।
प्रकाशित: २८ जेष्ठ २०७८ १२:५० शुक्रबार