१५ चैत्र २०८० बिहीबार
समाज

गाउँ–गाउँमा फैलिँदै कोरोना

संक्रमण बढिरहेको गाउँ । तस्बिर: दिनेश /नागरिक

पछिल्लो समय शहर भन्दा गाउँ कोरोना जोखिममा परेका छन् । नेतृत्व शहरमुखी भईदिदा दुर्गम गाउँहरु ओझेल परेका हुन् । केन्द्र र प्रदेश सरकारको ध्यान आफू र आफ्नालाई अनि कुर्सीमा मात्र गए पछि बस्ती बस्तीमा फैलिएको महामारीका बारेमा चासो दिन छोडिएको हो । यतिबेला पहाडी जिल्ला रोल्पाका दुर्गम बस्तीहरुमा संक्रमण तीव्र गतिमा फैलिएको छ । मंगलवार सुनछहरी गाउँपालिका वडा न. ३ गाममा ५२ लाई परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएपछि स्थानीयमा त्रास बढेको हो ।

त्यसो त रोल्पा आफैमा पहाडी अनि दुर्गम जिल्ला हो । त्यसमा पनि भित्र भित्रका बस्ती सम्म संक्रमण भित्रिए पछि समस्या थपिएको छ । अस्पताल वा स्वास्थ्य सस्था टाढा भएका यी बस्तीहरुमा बस्ने भोट बैंकका रुपमा मात्र प्रयोगमा आउने हुन अथवा राज्यले केही गर्छ अलमल थपिएको हो । ‘केहि भयो भने मर्ने त होला । नजिकमा अस्पताल छैन । हामिलाई कसले मतलब गरोस ।’ गामका स्थानिय देउसिंह घर्ती भन्छन् ‘हाम्रो काम भोट हालेर जिताउने मात्रै हो । जनतालाई पर्दा राज्यले किन हेरोस ।’  

सुनछहरी गाउँपालिकाका स्वास्थ्य संयोजक जगत बुढाका अनुसार केही संक्रमितमा लक्षण छ भने केही सामान्य छन् । ‘प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिसंगै स्थानीयहरु पनि संक्रमित भएका छन् ।’ उनले भने ‘हाम्रो पालिकामा गत ३ दिनमा ५२ संक्रमित भेटिएका छन् ।’ बुढाका अनुसार प्रर्याप्त परीक्षण गर्न सकिएको छैन । जिल्लाले १५ थान र गाउँपालिकाले २ सय ५० थान एन्टीजेन किट किनेको थियो । किट अभावमा धेरैलाई परीक्षण गर्न नसकिएको हो ।  

सुनछहरीमा जस्तै थवाङ गाउँपालिकामा पनि संक्रमणले छोडेको छैन । यहाँका गाउँमा पनि कोरोनाले आतंक फैलाएको छ । थवाङ अहिले सम्म ३६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य संयोजक तुलबहादुर पुनले किट नभएपछि सदरमुकामस्थित अस्पतालबाट २५ वटा सापटी लिएको बताए । खरिद गर्न खोजेको पाईएको छैन् । राज्यले परीक्षण किटको व्यवस्था गर्न नसक्दा सकस भएको हो । त्यसो त थवाङमा अक्सिजन अभाव भएपछि किनेर ल्याईयो तर अपुरो सेट आएपछि प्रयोगमा आएको छैन । पुन भन्छन् ‘यहाँ १० वटा अक्सिजन सिलिन्डर आयो तर जोड्ने सकेट नभए पछि प्रयोग गर्न सकिएको छैन ।’  

अर्को दुर्गम गंगादेब गाउँपालिकामा १ सय २४ जना संक्रमित छन् भने परिबर्तनमा ५६ जना, सनिलस्मृती गाउँपालिकामा १ सय ४८ जना, परिवर्तन गाउँपालिकामा ५६ जना, त्रिबेणीमा ६०, लुङग्रीमा ३८, रुन्टीगढीमा ३० र रोल्पा नगरपालिकामा २ सय ३४ जना हाल सक्रिय  संक्रमित रहेका छन् । यति धेरै संक्रमित भएको रोल्पामा अस्पताल भने १५ शैयाको मात्र रहेको छ । मंगलवार सम्मको यो तथ्याङ्क हेर्दा यतिबेला गाउँहरु जोखिममा रहेका छन् । रोल्पामा अहिले सम्म संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ भने जिल्ला बाहिर उपचारका लागि गएका अन्य दर्जन बढिले उतै ज्यान गुमाएका छन् ।

प्रकाशित: १२ जेष्ठ २०७८ ०९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App