१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

फुक्काफाल बानीले गाउँँमा संक्रमण डरलाग्दो

विवाह, ब्रतबन्ध, पुजाआजाले गाउँमा एकाएक संक्रमण बढेको छः चिकित्सक

गोरखाको भीमसेनथापा गाउँपालिकाको सबै भूगोल ग्रामिण क्षेत्रमा पर्छ । अहिले यो गाउँपालिकामा मात्र झन्डै दुईसयजना कोरोना संक्रमित छन् । गोरखामा सबैभन्दा बढी संक्रमित यही गाउँपालिकामा छन् । त्यसमा पनि गाउँपालिकाको वडा ७ मा झन्डै एकसयजना बिरामी छन् ।

ग्रामिण क्षेत्रमा किन यत्ति धेरै संक्रमित बढेका छन त ? गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनाल भन्छन, ‘सहरमा पो निषेधाज्ञा छ, जहाँ पायो र जो पायो त्यो हिडडुल गर्न पाउँदैन । तर, गाउँमा कसैले टेर्दैनन् । मन लागेको ठाउँमा आउजाउ चलिरहेको छ ।’ उनका अनुसार गाउँमा स्वास्थ्यमा मापदण्ड कतै पालना हुँदैन । सहरमा पैदलै हिडडुलमा पनि कडाई छ, तर गाउँ खुलमखुला छ । मास्क लगाउन पनि मान्दैनन् । भेटघाट, आउजाउ, जमघट, धार्मिक काम सबै चलेका छन् ।  

खनालका अनुसार ग्रामिण क्षेत्रमा एकाएक संक्रमण बढ्नुका मुख्य कारण हुन–विवाह, ब्रतबन्ध, भोजभतेर, पुजापाठ । जुन केहीदिन अघिसम्म नियमित थिए । फाट्टफुट्ट अहिले पनि हुने गरेका छन् । उनका अनुसार सबैभन्दा बढी संक्रमित रहेको ७ नम्बरको एकै वडाभित्रको एउटा टोलमा ५०–६० जना संक्रमित भेटिँदा त्यही वडाको अर्काे टोलमा विवाह भोज चलिरहेको थियो ।  

‘गाउँमा हिडडुल रोक्न पनि सकिन्न । सांस्कृति र धार्मिक कार्यक्रम पनि उत्तिकै भए । भेला र जमघट पहिलेजस्तै छन् । यहीबेला सहरबाट घर फर्केका पनि प्रयाप्त छन् । सबैतिरको भीडभाड गाउँमा हुँदा संक्रमण फैलिन सघाउ पुगेको छ,’ उनले भने, ‘गाउँपालिकाभरि संक्रमित भेटिन थालेपछि बल्ल सांस्कृति र धार्मिक कार्यक्रम केही कम भएका छन् । नत्र यहाँको भीडभाड कसैले रोकेर रोकिने अवस्था छैन ।’

ग्रामिण भेग भएकोले पनि कडाई गर्न कठिन भएको उनले बताए । उनका अनुसार गाउँमा एकसाता अघिसम्मका सबै गतिविधि यथावत थिए । गाउँमा मेलापर्व पनि चलिरहेका छन् । घरभित्रै बस भनेर पनि कोही रोकिने अवस्था नरहेको खनाल बताउँछन् । गाउँमा पीसीआर गर्न पनि गाह्रो र स्वास्थ्यका जनशक्ति पनि कम हुँदा अझै कतिपय संक्रमितको अवस्था थाहा पाउन नसकेको उनले बताए ।  

यस्तै अवस्था पर्वतमा पनि छ । पर्वतको जलजला गाउँपालिकाको अधिकांश भूगोल पनि ग्रामिण भेग हो । ग्रामिण भेग भएपनि यहाँ पनि संक्रमितको संख्या उकालो लागिरहेको छ । सहरीया भीडभाडबाट टाढा भएपनि गाउँका नियमित जमघटले अहिले कोरोना फैलाउन सघाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । शर्माका अनुसार अहिले जलजलामा मात्र ७५ जना संक्रमित छन् ।  

‘सहरमा ‘निषेधाज्ञा’ र ‘शिल’ भन्ने शब्दले नागरिक डराउँछन् । तर, ग्रामिण भेगमा निषेधाज्ञा र शिल भन्ने शब्दले काम गर्दैन र गरेको पनि छैन,’ शर्र्माले भने, ‘निषेधाज्ञा र शिल भन्ने शब्दलाई गाउँलेले हाँस्यव्यंग्यको रुपमा बुझेका छन् ।’ उनका अनुसार ग्रामिण भेगमा कोरोना संक्रमण ह्वात्तै बढ्नुमा चारवटा कारण मुख्य हुन् । ती हुन, धार्मिक तथा वैवाहिक कार्यक्रमको निरन्तरता, एकाघरका भेला भएर समय कटाउने निहुँमा खेलिने जुवातास, सबैतिर खुलमखुला मदिरा बिक्रीवितरण हुनु र गाउँकै ठुलाठालु हुँ भन्नेको फिरन्ते बानी ।

‘गाउँका भोजभतेर रोक्नै सकिएन । विवाह, व्रतबन्ध जस्ता सामाजिक कामले एकाएक आउजाउ र भीडभाड बढायो,’ शर्माले भने, ‘जसले गर्दा संक्रमण फैलाउन सघाएको हो । संक्रमित नै गाउँ डुल्दै हिड्ने अवस्था हुँदा पनि रोक्ने आँट कतै छैन ।’

शर्माका अनुसार गाउँमा हत्तपत्ति प्रहरीको पहुँच पुग्दैन भने पुगिहालेमा पनि टेर्दैनन । स्थानीय तहका पदाधिकारीलाई त हाम्रै भोटले चुनाव जितेका हौ भन्दै आँैला ठड्याउने गरेको उनले बताए । ‘गाइबस्तु हुने भएकोले घरभित्रै बसेर पनि पुग्दैन । तर सुरक्षित हुनचाहेमा सहज पनि छ । किनकी गाउँमा भीडभाड नगर्ने र कतै जमघट नगर्ने हो भने कम हुन्छ,’ उनले भने ।  

यस्तै अवस्था पोखरा महानगरभित्रै पनि छ । महानगरको सहरी वडामा भन्दा ग्रामिण वडामा पछिल्लो समय संक्रमणको गति बढिरहेको छ । महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार पोखरा–२१ कृस्तिमा केहीदिन अघि झन्डै ५० जना संक्रमित भेटिएका थिए । सहरभन्दा केही परको यो गाउँमा एकैपटक धेरै संक्रमित भेटिएपछि अहिले गाउँले सचेत त बनेका छन, तर, अरु गाउँको अवस्था पनि डरलाग्दो बनिरहेको उनले बताए ।  

‘गाउँमा कोरोना फैलाउने माध्यम नै विवाह, ब्रतबन्ध, भोजभतेर प्रमुख कारण बन्यो । सहरभित्र सांस्कृतिक कार्यक्रम रोकिँदासम्म गाउँमा जारी थिए,’ उनले भने, ‘निषेधाज्ञा र लकडाउनले सहरी भेगमा काम गरेको छ । तर, गाउँमा गरेन ।’ उनका अनुसार अहिले गाउँमा मेलापर्म उत्तिकै चलेका छन । सहरमा निषेधाज्ञा भएपनि गाउँ फर्केका स्थानीयको भेटघाट चलिरहँदा पनि जोखिम बढाएको उनले बताए ।

‘सहरमा प्रशासनको नजर छ । तर, गाउँमा अझै पुगेको छैन । गाउँमा प्रशासनले कडाई गर्न पनि कठिन छ,’ महानगरका शर्माले भने, ‘जिल्लाभित्र पुरै निषेधाज्ञा लागु गरेको भएपनि गाउँमा हिडडुल र आउजाउ नरोकिँदा यो अवस्था आएको हो ।’  

चिकित्सकहरु पनि गाउँमा हेलमेल बढी हुँदा संक्रमण फैलिन सघाउ पुगेको बताउँछन् । वरिष्ठ फिजिसियन डा. बुद्धिबहादुर थापा भन्छन्, ‘एकजना संक्रमित गाउँ पस्दा सबैतिर फैलिएको छ । अहिले गाउँ प्रवेशमा कतै कडाई पनि छैन । अघिल्लोपटक अलि कडा गर्दा गाउँमा जो कोही जान सकेका थिएनन । अबको त्रास गाउँमा छ ।’  

उनका अनुसार गाउँमा परीक्षण पनि छैन । त्यसैले धेरैले परीक्षणबिना बसिरहेका छन् ।  ‘गाउँमा मेलापात, आउजाउ, भेटघाट पहिले झैं चलिरहेका छन । घरायसी काम रोक्न पनि सकिन्न,’ थापाले भने, ‘सहरमा कडा निषेधाज्ञाले काम गरेको छ । गाउँमा फुक्काफाल हुँदा जोखिम बढिरहेको छ ।’ गाउँमा प्रशासनको पहुँच पनि नपुग्ने भएकोले स्वास्थ्यका मापदण्ड पालनामा पनि कडाई हुन नसकेको उनले बताए । 

प्रकाशित: २९ वैशाख २०७८ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App